Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यसकारण बुक बिल्डिङ प्रक्रियाबाट निष्कासन हुने आईपीओको मूल्य महँगो हुन्छ ? यस्ता छन् मूल्य निर्धारणका विधिहरु !

यसकारण बुक बिल्डिङ प्रक्रियाबाट निष्कासन हुने आईपीओको मूल्य महँगो हुन्छ ? यस्ता छन् मूल्य निर्धारणका विधिहरु !


  • 7.5K
    Shares

    यसकारण बुक बिल्डिङ प्रक्रियाबाट निष्कासन हुने आईपीओको मूल्य महँगो हुन्छ ? यस्ता छन् मूल्य निर्धारणका विधिहरु !

    काठमाडौं । पछिल्लो समय बुक बिल्डिङ प्रक्रियाबाट सेयर जारी गरे सेयर मूल्य अहिलेको भन्दा महँगो पर्न जाने बहस भइरहेको छ । एकातर्फ १० कित्तामा आवेदन दिन नपाइने र अर्कोतर्फ मूल्य पनि बढी हुने भनिएपछि साना लगानीकर्ता बिच्काउने नीति भनेर आलोचनासमेत हुँदै आएको छ । सामान्यतया अहिले आईपीओ सय रुपैयाँ प्रतिकित्तामा पाउँदै आएको छ ।

    बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन हुन थाले न्यूनतम ५० कित्तामा आवेदन दिनुपर्ने व्यवस्था स्वत्तः लागू हुनेछ र विस्तारै १० कित्ते प्रावधान हट्दै जानेछ । नेपाल धितोपत्र बोर्डले पनि १० कित्ते प्रावधान हटाउनुपर्ने आवश्यकता महसुस गर्न थालेको छ र सोहीअनुसार गृहकार्य गरिरहेको छ ।

    बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ जारी गरे अहिले संस्थाहरुले जारी गर्ने आईपीओ मूल्यभन्दा केही महँगो हुनेछ । तर सबै कम्पनीहरु बुक बिल्डङ प्रक्रियामा जान भने पाउने छैनन् । बुक बिल्डिङबाट सेयर निष्कासन गर्ने केही सीमा बुक बिल्डिङ निर्देशिका २०७७ मा उल्लेख छ । बोर्डका प्रवक्ता निरज गिरीका अनुसार ५ वर्षमा विगत तीन वर्षदेखि नाफामा गएको र नेटवर्थको सीमा समेत भेट्टाएकाले बुक बिल्डङ प्रक्रियाबाट आईपीओ जारी गर्न पाउनेछन् ।

    पछिल्लो समय सर्वोत्तम सिमेन्टले संस्थागत लगानीकर्ताका लागि ७ सय ५० प्रतिकित्ताका दरले आईपीओ जारी गर्ने चर्चा चलिरहेको छ । यद्यपि ऊ धितोपत्र बोर्डसम्म पुगेको छैन । बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति माग्नुपर्ने हुन्छ । यता रिलायन्स सुगर मिल्सले पनि बुक बिल्डङबाट आईपीओ निष्कासन गर्ने चर्चा चलिरहेको छ । तर बोर्डका प्रवक्ता गिरीका अनुसार अहिलेसम्म बोर्डमा बुक बिल्डिङ प्रक्रियाबाट सेयर निष्कासन गर्ने जानकारी कसैले गराएका छैनन् ।

    ‘बुक बिल्डिङ विधि’ भन्नाले सङ्गठित संस्थाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा धितोपत्रको निष्कासन मूल्य निर्धारण गरिने विधि वा प्रक्रिया भन्ने बुझिन्छ । यस विधिबाट आईपीओ जारी भएका कम्पनीहरुमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था बुक बिल्डिङ निर्देशिका, २०७७ मा छ ।

    यस विधिमार्फत सुरुमा संस्थागत लगानीकर्तालाई सेयर बिक्री गरिसकेपछि मात्र सर्वसाधारणलाई आईपीओ जारी गरिन्छ । बुक बिल्डिङमा योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी धितोपत्रको आधार मूल्य तय गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ ।

    कसरी हुन्छ मूल्य निर्धारण ?

    कुनै एउटा कम्पनीले बुक बिल्डिङमार्फत आईपीओ जारी गर्नुपर्ने भएमा सबैभन्दा पहिले कम्पनीले आफ्नो वित्तीय अवस्था लगयतको सूचकहरुको मूल्याङ्कनका आधारमा एउटा मूल्य निर्धारण गर्नुपर्ने हुन्छ । 

    संस्थागत लगानीकर्ताले त्यस भाउमा सहमति जनाउन पनि सक्छन्, नजनाउन पनि सक्छन् । असहमत भएमा संस्थागत लगानीकर्ताले आशय मूल्य पेस गर्न पाउनेछन् । उक्त मूल्यको अध्ययन गरेर कम्पनीले फेरि आधार मूल्य निर्धारण गर्नेछ । यो सबै प्रक्रिया पूरा भएपछि एउटा आधार मूल्य निर्धारण हुन्छ ।

    धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गर्दा माथिल्लो सीमा आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य र तल्लो सीमा आधार मूल्यमा २० प्रतिशत घटाउँदा हुने मूल्य कायम गर्नुपर्नेछ । जस्तै ‘ए’ भन्ने एउटा कम्पनीको आधार मूल्य ६ सय रुपैयाँ छ । सो आधार मूल्यको माथिल्लो सीमा सात सय र तल्लो सीमा पाँच सय हुन्छ । सोही मूल्यमा बिडिङका लागि धितोपत्र बोर्डमा आवेदन दिनुपर्नेछ ।

    बोर्डबाट स्वीकृति पाएपछि उक्त सीमामा रहेर योग्य संस्थागत लगानीकर्ता बोलकबोलमा सहभागी हुन पाउँछन् । बोलकबोलका आधारमा कट अफ मूल्य निर्धारण हुन्छ । अन्त्यमा, उक्त कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणका लागि आईपीओ जारी हुनेछ ।

     

    प्रकाशित मिति :चैत्र ४ २०७७ बुधवार - १६:३५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij