२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । गत ९ फागुनमा तेह्रथुम छथर गाउँपालिका–५ घर भएका ३३ वर्षीय गोपालप्रसाद ढकाल मृत अवस्थामा भेटिए । भक्तपुर सूर्यविनायक नगरपालिका–८ सिपाडोलनजिकै उनको शव फेला परेको हो ।
सोही ठाउँको वडा कार्यालयनजिकै रोशन बस्नेतको कच्ची इँटा र माटोले बनेको गोठमा उनको शव परालले छोपिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
हत्या भएको स्थान ढकाल बस्ने कोठाबाट धेरै टाढा होइन । श्रीमतीसँगै बस्दै आएका ढकाल सो दिन तेल किन्न भन्दै कोठाबाट निस्किएको बताइएको छ । उनको त्यही दिन राति हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वसन्त पाठकका अनुसार त्यसपछि ढकाल कोठाबाट नजिकैको एउटा पसलमा पुगेको देखिन्छन् ।
‘त्यहाँ पुग्दा अन्य तीन जना व्यक्तिसँग उनको भेट भएको थियो । ‘ती तीन जनामध्ये एक जना हत्याको मुख्य व्यक्ति हुन्, उनी फरार छन्,’ डिएसपी पाठकले भने ।
अनुसन्धानका सिलसिलामा प्रहरी वृत्त जगातीले अन्य दुई जनालाई पक्राउ गरी हिरासतमा राखेको छ । ती दुई जनामध्ये एक जना केटा र अर्की केटी हुन् ।
पक्राउ परेका ती दुई जना व्यक्तिको नाम अहिले प्रहरीले खुलाएको छैन । उनीहरूले घटनामा के कस्तो सहयोगी भूमिका निभाएको हो भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
‘उनीहरूसँग बयान लिँदैछौं, मुख्य योजनाकारसँग उनीहरूको सम्पर्क सूत्र के कसरी स्थापित भयो र घटनाको राति सँगै रहँदा के–के कुराकानी भयो भन्नेबारे अनुसन्धान जारी छ,’ डिएसपी पाठकले भने ।
‘पक्राउ परेका दुईजना नजिकैको पाटीमा बस्ने, मागिखाने व्यक्ति हुन् भन्ने बुझिन आएको छ,’ पाठकले भने । डिएसपी पाठकका अनुसार उनीहरु र ढकालको एक पसलमा भेट भएपछि खानपिन भएको देखिन्छ । त्यसपछि ती दुई व्यक्ति छुट्टिन्छन् ।
‘गोठ भएतिर ढकाल र ती मुख्य योजनाकार गएका देखिन्छन्,’ नजिकैको सिसिटिभी फुटेजलाई उद्धृत गर्दै डिएसपी पाठकले भने । घटना आकस्मिक होइन, योजनाबद्ध हो भन्ने केही ‘क्लू’ पनि फेला परेका छन् । जब तीन जना छुट्टिन्छन्, त्यसपछि मुख्य योजनाकारले ढकालकै मोबाइलबाट उनकी श्रीमतीलाई फोन गरेका थिए ।
‘योजनाकारले राति नै दुई लाख रुपैयाँ ठिक पार्नू, नत्र मारिदिन्छु भनी ढकालकी श्रीमतीलाई फोन गरेका छन्,’ डिएसपी पाठकले भने । त्यसलगत्तै ढकालको फोन अफ भयो । यता घर परिवारमा बेचैनी दौडिरहेकै बेला र खोजीको प्रयास हुन नपाउँदै हत्या भयो ।
ढकालको इँटा तथा ढुंगाले टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा हिर्काएर हत्या गरिएको देखिएको डिएसपी पाठकले बताए । ‘ती योजनाकार एक्लैले गरे या त्यस कार्यमा त्यहाँ अन्य कोही सहयोगी पनि थिए भन्ने कुरा स्पष्ट भइसकेको छैन,’ पाठकले भने ।
मोबाइल अफ भएको भोलिपल्ट मात्र परिवारले प्रहरीमा खबर गरेका थिए । रकम माग गरिएकाले अपहरण भएको हुनसक्ने आशंका गरी प्रहरीले अनुसन्धान सुरू गरेको छ ।
२०७९ सालको चैतमा ढकाल मलेसियाबाट फर्केका थिए । उनी युरोपियन मुलुक जानको निम्ति आवश्यक तयारी गरिरहेका थिए । ढकालकी एक छोरी छिन् । मृतकको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij