२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । हिमाली जिल्लाअन्तर्गत तल्लो मुस्ताङका सामुदायिक विद्यालय खुलेका छन्। जिल्लाको थासाङ गाउँपालिका र घरपझोङ गाउँपालिकाका सामुदायिक विद्यालयहरूलाई पुस र माघ दुई महिना लामो हिउँदे जाडो बिदा दिइएकोमा गर्मीयाम सुरु भएसँगै मंगलबारदेखि शैक्षिक पठनपाठन सञ्चालनमा ल्याइएको हो।
जिल्लाको करिब ३ दर्जन सामुदायिक विद्यालयमध्ये तीन स्थानीय तहका करिब दुई दर्जन सामुदायिक विद्यालयहरूलाई हिउँदे जाडो बिदा दिइएको थियो। मुस्ताङमा बर्सेनि तल्लो क्षेत्रका तीन स्थानीय तहमा सम्बन्धित पालिकाको निर्णयबमोजिम विद्यार्थीलाई दुई महिना लामो हिउँदे बिदा दिने प्रचलन छ। उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गत सामुदायिक, निजी र गुम्बा विद्यालयहरूले विद्यालर्थीलाई हिउँदे बिदा नदिई घुम्ती कक्षाका लागि साविक स्थानबाट बेसी झार्ने परम्परा छ। उनीहरूलाई हिमाली छात्रवासको अनुदान तथा स्थानीय तहको सहयोगमा बेसीको पारिलो ठाउँमा राखेर पठनपाठन सञ्चालन गर्ने गरिएको छ।
अत्यधिक हिमपातको सम्भावना र चिसोका कारण तल्लो मुस्ताङका सामुदायिक विद्यालयहरूमा हिउँदयाममा दुई महिना शैक्षिक पठन÷पाठन बन्द हुने र फागुन महिना लागेपछि विद्यालय सञ्चालन हुने प्रचलन रहेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रामेश्वर लामिछानेले उल्लेख गरे। एकाइ प्रमुख लामिछानेले हिउँदको दुई महिना बन्द गरिएका विद्यालयले फागुन १ गते शैक्षिक पठन÷पाठन सञ्चालनमा ल्याएको जानकारी दिए। उनका अनुसार थासाङ र घरपझोङका सामुदायिक विद्यालय खुलिसकेको छ। थासाङमा १२ र घरपझोङमा ८ सामुदायिक विद्यालय छन्।
घरपझोङ गाउँपालिका जोमसोमस्थित धौलागिरी आवासीय माध्यमिक विद्यालय फागुनको दोस्रो साता सञ्चालन हुनेछ। वारागुङको जनशान्ति माध्यमिक विद्यालय पनि दोस्रो साता नै खुल्ने बताइएको छ। त्यहाँको जननर्मल प्रस्ताविक माध्यमिक विद्यालय भने घुम्तीका लागि बेसीमा स्थान्तरण गरिएको छ।
देशभर शैक्षिक सत्रमा एक रुपता कायम गरिएसँगै तल्लो मुस्ताङका अभिभावक सरकारको यो निर्णयप्रति रुष्ट छन्। उनीहरूले शैक्षिक सत्र अन्त्य नगरी विद्यार्थीलाई दुई महिना लामो हिउँदे बिदा दिइँदा विद्यार्थीको सिकाइ उपलब्धि प्रभावकारी नहुँने जनाएका थिए। उपल्लो मुस्ताङको लोमान्थाङबाट ४ वटा गुम्बा विद्यालय,२ निजी र ३ सामुदायिक विद्यालय जाडो छल्न बेसीमा छन्। रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij