Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

दोदा नदीमा बाढी पूर्वसूचना यन्त्र जडान

दोदा नदीमा बाढी पूर्वसूचना यन्त्र जडान


  • 2.1K
    Shares

    दोदा नदीमा बाढी पूर्वसूचना यन्त्र जडान

    कञ्चनपुर । कञ्चनपुरको दोदा (मछेली) नदीमा बाढी पूर्वसूचना यन्त्र (राडार लेभल सेन्सर) जडान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरीया कैलालीको प्राविधिक सहयोगमा रु १० लाख बढीको लागतमा   सो यन्त्र जडान गरिएको हो ।
      
    जडान गरिएको यन्त्रले स्वचालितरुपमा नदीको पानीको सतह बढे घटेको जानकारी दिने फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जय शाहले जानकारी दिए । “बर्सेनि बाढीबाट हुने धनजनको क्षति कम गर्नका लागि पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्ने सुरुआत गरेका छौँ”, उनले भने, “अन्य बाढीबाट प्रभावित हुने क्षेत्रमा पूर्वसूचना यन्त्र थप्दै लैजान्छौँ ।”

    प्रमुख शाहले जडान गरिएको यन्त्रले १०-१० सेकेण्डमा नदीमा पानीको सतह घटे बढेको जानकारी दिने बताए । उनका अनुसार यन्त्रले दिने सूचना तथा मौसम विभागको वेबसाइटमार्फत अपडेट भइरहन्छ । सबैले सजिलै वेबसाइट हेरेर पनि बाढीबारे जानकारी पाउने उनको भनाइ छ । नदीको बाढी सतर्कता, चेतावनी, खतरा तहमा पुगेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई बाढीबारे निरन्तररुपमा जानकारी दिन सजिलो हुने उनले बताए।
     
    समूहगतरुपमा एसएमएस गरेर बाढीबारे प्रभावित क्षेत्रका बासिन्दालाई जानकारी दिन सकिने उनले उल्लेख गरे । बाढीबाट हुने धनजनको क्षति कम गर्नका लागि यन्त्रले सहयोग पुर्याउने उनको भनाइ छ । यन्त्र जडानले आपत्कालीन सञ्चालन केन्द्र राखिएको ‘डिस्प्ले’मा बाढीको जानकारी अद्यावधिक भइरहने हुनाले पूर्वसूचना प्रणाली बलियो हुने निड्स कञ्चनपुरका विपद्सम्बन्धी कार्यक्रम संयोजक नवीन भट्टले बताए ।
     
    “यस कार्यले नदीको तल्लो तटीय क्षेत्र लालझाडी, पुनर्वास, बेलौरीलगायतका पाँच हजार परिवारको बाढीबाट सुरक्षा हुन्छ”, उनले भने, “बाढी प्रभावित क्षेत्रका बासिन्दाले बाढी आउनपूर्व नै सूचना पाउने भएकाले सुरक्षित स्थानमा जानसक्ने हुँदा धनजन जोगाउन मद्दत पुग्छ ।”  डुबान हुने क्षेत्रका बासिन्दा जोगिने उनले जानकारी दिए । दोदा जलाधार क्षेत्रका पालिकासँग सहकार्य गरी बढी पूर्वसूचनाबारे निड्सले कार्य गरिहेको उनले बताए ।
     
    “दोदा नदीमा आउने बाढीले बर्सेनि तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना नहुँदा धनजनको क्षति हुँदै आएको थियो”, कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष अर्जुन साउदले भने, “बाढी पूर्वसूचना यन्त्र जडान भएपछि बाढीबाट धनजन जोगाउन सकिन्छ ।” उनका अनुसार सर्भेको कामपश्चात पूर्वपश्चिम राजमार्गको दोदा नदीको पुलको मध्य भागमा यन्त्र जडानको कार्य गरिएको छ ।  पुनर्वास विपद् व्यवस्थापन शाखका प्रमुख ओमनाथ ढकालले माथिल्लो तटीय क्षेत्रबाट नदीको बाढी नगरपालिका क्षेत्रमा पुग्न तीन चार घण्टा लाग्ने उल्लेख गर्दै यन्त्र जडानको कार्यले बाढी पुग्नुपूर्व नै सतर्कता अपनाएर धनजनको क्षति कम गर्न सकिने बताए । 

     

    प्रकाशित मिति :माघ १८ २०८० बिहिवार - ०७:३२:०७ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij