Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

मान्छे खाने बाघलाई चितवनबाट बर्दिया पठाइयो

मान्छे खाने बाघलाई चितवनबाट बर्दिया पठाइयो


  • 2.6K
    Shares

    मान्छे खाने बाघलाई चितवनबाट बर्दिया पठाइयो
    images

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिए पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

    अन्दाजी चार वर्षको भाले बाघ बर्दिया पठाइएको हो । खैरहनी नगरपालिका– १२ को कुमरोज बस्तीमा मान्छे खाएपछि बाघलाई गत साउनमा नियन्त्रणमा लिइएको थियो ।

    कसराको खोरमा चारवटा र सौराहामा दुईवटा हिंस्रक बाघ छन् । केही दिनअघि मकवानपुरको मनहरिमा मान्छेलाई आक्रमण गरेको अन्दाजी १० वर्षको पोथी बाघ सौराहामा राखिएको छ । यस्तै सौराहामै गतवर्ष मेघौलीमा मानिसलाई आक्रमण गरेको अन्दाजी १० वर्षको भाले बाघ पनि छ ।

    तिवारीका अनुसार निकुञ्जको मुख्य कार्यालय कसरामा गत भदौमा अमलटारीबाट ल्याइएको अन्दाजी दुई वर्षको भाले बाघ छ । यसैगरी बाँकेबाट दुईवर्ष अघि ल्याइएको अन्दाजी नौ वर्षको भाले बाघ त्यही खोरमा राखिएको छ । माडीको वनकट्टाबाट ल्याइएको अन्दाजी १३ वर्षको पोथी बाघ र तीन वर्षअघि देवनगरको बेलसहर सामुदायिक वनबाट नियन्त्रणमा लिइ ल्याइको अन्दाजी १२ वर्षको भाले बाघ कसरामा रहेका छन् । थप बाघ नियन्त्रणमा लिनु पर्दा तत्कालै राख्ने ठाउँ छैन ।

    निकुञ्जले पश्चिम चितवनको देवनगरमा वन्यजन्तु उद्धार केन्द्र बनाउँदै छ । सोही ठाउँमा बाघ राख्नका लागि दुईवटा खोर बनाइँदै छ । देवनगरका खोरमा राखिएका बाघलाई पर्यटकलाई देखाउने गरी व्यवस्थापन गरिँदै छ ।

    हिंस्रक बाघ बढ्दै गएपछि व्यवस्थापनमा समस्या भएको छ । एउटा बाघलाई एक दिन बिराएर पाँच किलो राँगाको मासु खुवाउने गरिएको छ । ठाउँ, जनशक्ति र आहाराका कारण बाघको व्यवस्थापन कठिन बनेको हो ।

    सन् २०२२ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ र देशभर तीन सय ५५ वटा बाघ छन् । निकुञ्जले यस आर्थिक वर्षमा दुईवटा हिंस्रक बाघलाई स्थानान्तरण गरेको छ । यसअघि एउटा बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा पठाएको थियो ।

    प्रकाशित मिति :मंसिर १९ २०८० मंगलवार - १४:१०:४८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij