Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

१८ वर्षपछि घर आइपुगे मलेसियामा हराएका गोपाल

१८ वर्षपछि घर आइपुगे मलेसियामा हराएका गोपाल


  • 3.3K
    Shares

    १८ वर्षपछि घर आइपुगे मलेसियामा हराएका गोपाल
    images

    वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका झापाकाे मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन्।

    अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो। उनकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपालको खोजी सुरु भएको थियो। 

    शुक्रबार क्लालाम्पुरबाट काठमाडौँ आएका गोपाल शनिबार घर पुगेका सांसद एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। मलेसियामा खोज्न र उद्धार गरेर नेपालसम्म ल्याउन पहल गरेका सांसद शर्माले आमा सानीको कारुणिक अपिलपछि मलेसियामा रहेको नेपाली जनसम्पर्क समितिको सक्रियता र त्यहाँको नेपाली राजदूतावासको सहयोगमा गोपालको सकुशल उद्धार सम्भव भएको बताए।

    ‘गोपाल भाइ मलेसियामा भेटिनुभयो मात्र होइन उहाँकी आमाले हराइरहेको छोरालाई आज आफ्नै अँगालोमा पाउनुभयो’, सांसद शर्माले उद्धारप्रति खुसी व्यक्त गर्दै भने, ‘यो नै सबैभन्दा ठूलो खुसी हो।’ गैरकानुनीरूपमा मलेसियामा रहेका गोपाललाई स्वदेश फर्काउन हवाई टिकट र जरिवाना गरेर नेपाली रु एक लाख चार हजार एक सय ६० तिर्नुपरेको नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाराज पङ्गेनीले जानकारी दिए।

    विसं २०६१ चैत ८ गते प्रोडक्सन अपरेटर कामका लागि श्रम अनुमतिपत्र पाएर १९ वर्षका उमेरमा गोपाल मलेसिया गएका थिए। 

    घर फर्किँदा उनी ३७ वर्षको भएका छन्। मलेसिया पुगेको एक सातापछि उनीमाथि गैरकानुनी कामदार भएको आरोप लागेको थियो। यसपछि उनको वास्तविक अवस्थाबारे नेपालमा रहेको परिवार बेखबर थियो।

    विदेशमा हराएको छोरा फर्केर घर आएकामा घिमिरेकी आमा सानीले खुसी व्यक्त गरिन्। छोरा खोजिदिन पहल गरिदिने सबैप्रति आभार प्रकट गर्दै उनले अब दुःखजिलो गरेर स्वदेशमै गरिखाने बाटोमा लाग्न छोरालाई आग्रह गरेकी छन्।

    गोपालले मलेसियामा रहँदा ज्यादै दुःख र सास्ती व्यहोर्नुपरेको बताए। ‘गैरकानुनी कामदार भएपछि बस्न र खानै मुस्किल परेको थियो’, उनले आमासँग आफ्नै घरमा भेट भएपछि भने, ‘यतिका वर्ष विदेश बस्दा सुको कमाएर घर पठाउन सकिनँ । आमाको आशीर्वादले बाँचेर आउन पाएँ, यसैमा म खुसी छु।’

    घरमा गोपालको एक छोरा पनि छन्। उनकी आमा सानीले नेत्रहीनको समूहलाई सडक गायनमा डोहोर्याएर गुजारा चलाउँदै आएका छन्। घरको आर्थिक स्रोतले खान लाउन नपुग्ने जनाउँदै छोरालाई वैदेशिक रोजगारीमा पठाउन ऋण काढ्दा घर पनि बैंकको धितोमा रहेको बताइन्।

    प्रकाशित मिति :मंसिर १० २०८० आइतवार - ११:३२:५७ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij