Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

साउदीमा नेपाली किन पर्छन् जेलमा ?

साउदीमा नेपाली किन पर्छन् जेलमा ?


  • 4.5K
    Shares

    साउदीमा नेपाली किन पर्छन् जेलमा ?

    काठमाडौं । पछिल्लो समय साउदी पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् । हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेको दूतावासले जनाएको छ । साउदीमा विभिन्न क्षेत्रमा गरी करिब ५ लाख नेपाली कार्यरत रहेका पाइन्छ ।

    यही स्थितिलाई मध्यनजर गर्दै साउदीस्थित नेपाली दूतावासले रोजगारीको सिलसिलामा साउदी अरबमा आई विभिन्न पेसा व्यवसायमा संलग्न रहेका नेपाली नागरिकले गर्न हुने–नहुने काम एवं सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सजगता र सचेतनाका सम्बन्धमा आफूले समयसमयमा विभिन्न कार्यक्रम, फेसबुक एवं वेबसाइटमार्फत जानकारी गराउँदै आएको जनाएको छ ।

    दूतावासले साउदी अरबमा गर्न हुने र नहुने कार्यहरू विभिन्न १५ बुँदामा र विशेष ध्यान दिनुपर्ने थप पाँच बुँदामा गरी कुल २० बुँदे विशेष महत्वपूर्ण जानकारी दिँदै त्यहाँ रहेका सम्पूर्ण नेपाली श्रमिक तथा समुदायको विशेष ध्यानाकर्षण गराएको छ ।

    साउदी अरबको साइबर अपराधविरुद्धको कानुन, २००७ को कोही कसैले उल्लंघन गरेमा पाँच वर्षको जेल सजाय वा ३० लाख रियालसम्म वा दुवै जरिमाना हुने भएकाले सो कानुनको प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न÷नगराउन दूतावासले अनुरोध गरेको छ ।

    गर्न हुने र नहुने काम
    १. कसैले पनि आफ्नो फोनबाट अनावश्यक म्यासेज वा कुरा नगर्नुहोला । फेसबुक, इमो, ह्वाट्स एप, म्यासेन्जर वा अन्य माध्यमबाट साउदी कानुनको बर्खिलाप हुनेगरी कुनै कुरा अपलोड, सेयर, लाइक, कमेन्ट आदि नगर्नुहोला ।

    २. आफ्नो फोनबाट अरूलाई कुरा गर्न नदिनुहोस् । आफैले पनि आफ्नो फोनबाट साउदीमा अपरिचित पुरुष वा महिलालाई सम्पर्क गरेर अनावश्यक कुरा नगर्नुहोला ।

    ३. हुन्डी, हवाला वा अन्य कुनै पनि गैरकानुनी माध्यमबाट रकमको कारोबार नगर्नुहोला । स्वदेशमा रकम पठाउँदा बैंकिङ माध्यमबाट मात्र पठाउनुहोला ।

    ४. आफू रहेको मुलुकको धर्म, संस्कृति, परम्परा, रीतिरिवाज र राजनीतिक व्यवस्थाको सम्मान गर्नु तपाईं हाम्रो दायित्व हो । साउदी अरबमा रहँदा आफ्नो यो दायित्व पूरा गर्नुहोस् । आफ्ना धार्मिक तथा सांस्कृतिक क्रियाकलाप आफ्नो कोठाभित्र मात्र सीमित राख्नुहोला ।

    ५. मदिराजन्य पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, सेवन तथा लागूपदार्थको सेवन वा कारोबार पूर्ण गैरकानुनी कार्य हो । यस्ता काममा संलग्न नहुनुहोला ।

    ६. अरूको उक्साहटमा लागेर वा स्वयं पनि कम्पनीको काममा बाधा पु¥याउने, उत्तेजना फैलाउने वा द्वेष बढाउने कार्य, बन्द, हडताल, धर्ना, जुलुस तथा राजनीतिक सभा, सम्मेलन, गोष्ठी गर्नु पूर्ण गैरकानुनी हुनुका साथै ठूलो सजायसमेत हुने भएकाले यी कुनै पनि कार्यहरू नगर्नुहोला ।

    ७. छुट्टीमा वा रोजगार करार सम्झौता समाप्त गरी नेपाल जाँदा अथवा नेपालबाट फर्केर आउँदा नेपाल एवं साउदी अरबको कानुनले निषेध गरेका कुनै पनि (आफ्नो वा अन्य कुनै व्यक्तिको) मालसामान वा सुनलगायत बहुमूल्य धातु लैजाने वा ल्याउने नगर्नुहोला ।

    ८. कुनै अन्य व्यक्तिका कानुनतः वर्जित मालसामान तपाईंले बोक्नुभएको छ भने त्यसको सम्पूर्ण जिम्मेवार तपाई आफैं हुनुहुनेछ । कानुनले प्रतिबन्ध लगाएका सामान ल्याउने लैजाने गरेका कारण धेरै नेपाली सम्बन्धित निकायको कारबाहीमा परेका छन् । तसर्थ, त्यस्ता कार्यमा संलग्न नहुनुहोला ।

    ९. स्थानीय कानुन, ट्राफिक नियम र अनुशासनको पालना गर्नुहोला र कानुनी कारबाही हुनबाट बच्नुहोला । ट्राफिक नियमको उल्लंघन गरी बाटो काट्दा धेरै नेपालीको निधन हुनुका साथै गम्भीर घाइते हुने गरेका छन् । तसर्थ, बाटो काट्दा तोकिएको स्थान वा संकेत भएको ठाउँबाट मात्र काट्ने गर्नुहोला । ट्राफिक नियमको उल्लंघन गरी बाटो काट्दा दुर्घटनामा परी निधन भएकाहरूको परिवारले क्षतिपूर्तिसमेत पाउँदैनन् ।

    १०. गर्मी तथा सुक्खा हावापानी भएकाले प्रशस्त पानी पिउनुहोला । कोठाबाहिर र कोठाभित्रको तापक्रम सन्तुलन हुनेगरी एसी चलाउनुहोला । दिनभरी घाममा काम गरेर कोठामा छिर्नेबित्तिकै एकैचोटी धेरै चिसो हुनेगरी एसी चलाउने तथा धेरै चिसो पानी वा चिसो पेय पदार्थ उपयोग गर्ने नगर्नुहोला ।

    ११. पारिश्रमिक बढी पाउने लोभमा रोजगार करार सम्झौताभन्दा फरक काम र कम्पनी नखोज्नुहोला । विधिवत कफला हस्तान्तरण नभएसम्म कम्पनी छोडेर भाग्ने वा काम छोड्ने नगर्नुहोला । कम्पनी छोडेर भागेको अवस्थामा अवैध हुन गई स्वदेश फर्कन तथा बिरामी भए उपचार गर्न समस्या पर्छ । साथै, अवैध रूपमा काम गरिरहेको अवस्थामै दुर्घटनामा परी मृत्यु भएमा परिवारले सामाजिक सुरक्षा बिमाबापत कुनै रकम पाउँदैनन् ।

    १२. रोजगार करार अवधि सकिने मिति यकिन गर्नुहोला । करार अवधिभन्दा बढी बस्न कानुनतः मिल्दैन । करार अवधि सकिनुअघि नै एक्जिट भिसा लगाउने वा करार सम्झौता नवीकरण गर्ने यकिन गर्नुहोला । सोअनुसार कम्पनीमा लिखित आवेदन दिनुहोला । करार सम्झौता नवीकरण गर्नुपर्ने भए पुनः श्रमस्वीकृति लिने व्यवस्था गर्नुहोला । एउटा कम्पनीसँगको करार समाप्त भई अर्को कम्पनीसँग करार गर्ने भएमा साउदी सरकारले उपलब्ध गराएको ‘एब्सर एप’ तथा ‘क्यूआईडब्लूए’ पोर्टल प्रयोग गर्नुहोला ।

    १३. आफ्नो अकामा (फोटोकपीसमेत) अरूलाई नदिनुहोला । तपाईंको अकामाको पूर्ण जिम्मेवारी तपाईंमा हुन्छ । तपाईंको अकामा प्रयोग गरी कसैले बदमासी ग¥यो भने त्यसको दोष तपाईंमा आउँछ र तपाईं सजायको भागी हुनुहुन्छ । माथि भने झैं आफ्नो टेलिफोन पनि अरूलाई नदिनुहोला । त्यसरी दिएर गलत कल गरेमा कानुनअनुसार तपाईं पनि कारबाहीमा पर्नुहुनेछ ।

    १४. कम्पनीमा आफूले गर्नुपर्ने दैनिक कामको तालिका वर्कसिट लिनुहोला । यसबाट तपाईंको अधिकार स्थापित गर्न सहज हुनेछ । आफूसँगै काम गर्ने अरू मुलुकका कामदारसँग सभ्य व्यवहार गर्नुहोला, झगडा गर्दै नगर्नुहोला । आफ्नो म्यानेजर वा सुपरभाइजरसँग सम्मानजनक व्यवहार गर्नुहोला ।

    १५. नेपाली एवं विदेशी कामदारको लहैलहैमा लागेर धेरै नेपालीले सामान चोरी गरेका आरोपका मुद्दाहरू वर्षौंदेखि विभिन्न अदालतहरूमा रहेका छन् । तसर्थ, चोरीजस्तो जघन्य अपराध नगर्नुहोला ।

    १६. बिरामी भएमा समयमै अस्पताल जानुहोला र यसमा कम्पनीको सहयोग आवश्यक परेमा आधिकारिक व्यक्तिलाई भन्नुहोला । काम गर्दा कामको प्रकृतिनुसार व्यवसायजन्य सुरक्षाका उपायहरू अपनाउनुहोला र सुरक्षाका सामग्री प्रयोग गर्नुहोला । यो समाचार आजको राजधानी दैनिकमा छ ।

    प्रकाशित मिति :कार्तिक २३ २०८० बिहिवार - ०६:१८:४१ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij