Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

उखु किसानले अनुदानबापतको २९ करोड पाएनन्

उखु किसानले अनुदानबापतको २९ करोड पाएनन्


  • 2.1K
    Shares

    उखु किसानले अनुदानबापतको २९ करोड पाएनन्
    images

    सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले पाउनुपर्ने २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन सकेका छैनन्। 

    जिल्लामा सञ्चालनमा रहेका तीनवटा चिनी उद्योगलाई ४१ लाख क्विन्टलभन्दा बढी उखु बेचेका किसानले राज्यले उपलब्ध गराउनुपर्ने अनुदानबापतको प्रतिक्विन्टल ७० का दरले २९ करोड २५ लाख ५२ हजार सात सय ४९ रुपैयाँ उखु बेचेको सात महिना हुँदासमेत नपाएको नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए। 

    उनका अनुसार दशैंको मुखमा पनि उखु बेचेको अनुदानबापतको रकम नपाउँदा जिल्लाका किसान निराश भएका छन्। उखु बेचेको अनुदानबापतको रकम नदिँदा जिल्लाका उखु उत्पादन किसानमा दशैं कसरी मनाउने भन्ने चिन्ता बढेको अध्यक्ष मैनालीले बताए।

    जिल्लाका इन्दुशङ्कर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौललाई आर्थिक वर्ष २०७९/८० मा १८ हजार दुई सय ८६ किसानले ४१ लाख ७९ हजार तीन सय २४ दशमलव ९९ क्विन्टल उखु बिक्री गरेका थिए। त्यसमध्ये राज्यले दिनुपर्ने अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदासमेत नपाएको बागमती नगरपालिका–४ का किसान केदारनाथ प्रसाईंले गुनासो गरे।

    अहिलेसम्म अर्थ मन्त्रालयबाट उखुको अनुदान रकम प्राप्त नभएको कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक पुरुषोत्तम बरालले बताए। उनका अनुसार कार्यालयलाई रकम प्राप्त भएपछि करिब दुई साता आन्तरिक तयारी गरेपछि किसानको खातामै रकम पठाउन सकिने छ।

    सरकारले आव २०७९/८० मा उखुको मूल्य प्रतिक्विन्टल छ सय १० निर्धारण गरेको र त्यसमध्ये चिनी उद्योगले प्रतिक्विन्टल पाँच सय ४० भुक्तानी गर्ने र बाँकी प्रतिक्विन्टल ७० सरकारले अनुदानबापत उपलब्ध गराउने सहमति भएको नेपाल उखु उत्पादन किसान महासङ्घका अध्यक्ष मैनालीले बताए। 

    उनका अनुसार राज्यले दिनुपर्ने अनुदानबापतको रकम उखु बिक्री गरेको सात महिना भइसक्दासमेत उखु उत्पादक किसानले नपाउँदा किसानमा थप निराशा छाएको छ।

    आफूहरुले पटक–पटक अर्थ मन्त्रालयमै पुगेर ताकेता गर्दा पनि सरकारले जिल्लामा अनुदान रकम पठाउन आलटाल गर्दै आएको अध्यक्ष मैनालीले आरोप लगाए। गतवर्ष पनि दशैंको मुखैमा उखुको अनुदान रकम निकासा भएको थियो।

    प्रकाशित मिति :आश्विन ३० २०८० मंगलवार - ०७:२५:३० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij