Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

मनसुन पूर्णरुपमा बाहिरिँदै, यसवर्ष ८८ दशमलव पाँच प्रतिशत वर्षा

मनसुन पूर्णरुपमा बाहिरिँदै, यसवर्ष ८८ दशमलव पाँच प्रतिशत वर्षा


  • 2.6K
    Shares

    • images
    मनसुन पूर्णरुपमा बाहिरिँदै, यसवर्ष ८८ दशमलव पाँच प्रतिशत वर्षा
    images

    काठमाडौँ । गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि मनसुन औसत मितिभन्दा दुई साता ढिलो बाहिरिएको हो ।

    महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बहिर्गमन समय अक्टोबर २ तारिख हो । यसवर्ष सरदर मितिभन्दा एक दिन ढिलो मनसुन भित्रिएको थियो । नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू-भाग भएर यही असोज १९ गते यसवर्षको मनसुन बाहिरिएको थियो । असोज २७ गते देशको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका सम्पूर्ण भू-भाग तथा बागमती प्रदेश र मधेस प्रदेशका आंशिक भू-भागबाट बाहिरिएको छ ।

    यसअघि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश साथै लुम्बिनी प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशको पश्चिमी भू-भागबाटसमेत मनसुन बाहिरीसकेको छ । “मनसुन पूर्णरुपमा बहिर्गमन हुने अवस्थामा छ”, महाशाखाका मौसमविद् रोजन लामिछानेले भने, “साँझसम्म मनसुन बाहिरिने अनुमान गरिएको छ । आजै मनसुन विशेष बुलेटिन आउनसक्छ ।”

    उनका अनुसार मनसुन अहिले कोशी प्रदेशमा केन्द्रित छ । मधेस र बागमती प्रदेशका थोरै स्थानमा बाँकी छ । हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आगामी दिनदिनसम्म देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिए ।

    अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । देशका पहाडी भू-भागमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    मनसुन अवधिमा ८८ दशमलव पाँच प्रतिशत वर्षा

    जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाँईका अनुसार नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलव पाँच प्रतिशत वर्षा भएको छ । यो मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनामा सरदरभन्दा कम वर्षा भएको हो ।

    नेपालमा मनसुन अवधिमा सरदर एक हजार चार सय ७२ मिलिमिटर वर्षा हुने गरेकामा यसवर्ष मनसुन अवधिमा एक हजार तीन सय तीन मिलिमिटर वर्षा भएको हो । काठमाडौँमा एक हजार दुई सय ८३ मिलिमिटर वर्षा भएको छ ।  जुन सरदरको एक सय नौ प्रतिशत हो । काठमाडौँमा मनसुन अवधिमा सरदर एक हजार एक सय ७६ दशमलव चार मिलिमिटर वर्षा हुन्छ ।

    त्यसैगरी ओखलढुङ्गामा एक हजार चार सय ९२ दशमलव एक मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम जनकपुरमा छ सय ३७ दशमलव एक मिलिमिटर वर्षा मापन गरिएको छ । जनकपुरको सरदर वर्षा एक हजार एक सय ९५ दशमलव आठ मिलिमिटर हो ।

    प्रकाशित मिति :आश्विन २९ २०८० सोमवार - ०६:२७:२६ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij