Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

भारतमा मजदुरी गर्नेहरु भन्छन्– दसैँमा घर गए गुजारा कसरी गर्नु ? 

भारतमा मजदुरी गर्नेहरु भन्छन्– दसैँमा घर गए गुजारा कसरी गर्नु ? 


  • 2.1K
    Shares

    • images
    भारतमा मजदुरी गर्नेहरु भन्छन्– दसैँमा घर गए गुजारा कसरी गर्नु ? 
    images

    नैनीताल । कालीकोटको खिना घर भएका दानसिंह विक दसैँको मुखमा भारतको उत्तराखण्ड राज्यको पर्यटकीय नगरी नैनीतालमा भारी बोग्दै गरेको अवस्थामा भेटिए । उनले नैनीतालमा यसरी बोक्न थालेको १८ वर्ष भयो । विक साँझ बिहान नैनीतालस्थित एउटा होटलको नर्सरीमा काम गर्छन् । यसबाहेकको बाँकी समय उनी भारी बोक्छन् । 

    “भारी बोकेरै घरको खर्च धानेको छु, यो नगरे घरमा सबै ठप्प हुन्छ”, ४७ वर्षीय विकले भने । उनी केही दिनअघि मात्रै कालिकोट गएर नैनीताल काममा फर्किएका हुन् । उनले भने, “घरमा छोरो बिरामी भएको खबर आयो, उपचारका लागि खर्च लगेर गए, अब घर ढिलै जान्छु, दसैँमा गइन्न ।” 

    नैनीतालमा मजदुरी गरेर विकले मासिक रु ३० हजारसम्म कमाउँछन् ।  “स्वदेशमै काम पाएको भए विदेश आउन मन थिएन, काम पाइहाले पनि उचित  ज्याला पाइँदैन”, उनले भने,““यहाँ दुखः गरे अनुसारको पारिश्रमिक पाइन्छ ।” 

    नैनीताललाई सुन्दर बनाउन धेरै नेपाली मजदुरको मेहेनत छ । नैनीतालको तल्ली र मल्ली ताल क्षेत्रमा सयौँ नेपाली मजदुर दिनरात भारी बोक्दै गरेको अवस्थामा भेटिन्छन् । कोही होटल त कतिपय स्थानीय साहुमहाजनको घरमा काम गरेर जीविका चलाउँदै आएका छन् । पछिल्लो समय सडक पेटीमा पसल सञ्चालन गर्ने नेपालीको सङ्ख्या बढ्दै गएको छ । नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैँको मुखमा समेत मजदुरी गर्नेको सङ्ख्या उत्तिक्कै छ । 

    “दसैँमा घर परिवारसित बसेर पर्व मनाउने इच्छा कसको हुन्न र ?” कैलालीको घोडाघोडी नगरपालिका–२ का १८ वर्षीय रमेश रावतले भने, “दसैँमा घर गए बाँकी समय गुजारा कसरी गर्नु ?” नैनीतालकै कमाइले घर परिवारको खर्च चलाएको उनको भनाइ छ । 

    राजनीतिक परिवर्तन भएपनि स्वदेशमै रोजगारीका सम्भावना नदेखिनु दुःखद् भएको रावतको भनाइ छ । उनी कक्षा १२ कक्षाको परीक्षा दिएर मजदुरी गर्न नैनीताल आएका हुन् । रावतका बुबा पनि यतै मजदुरी गर्छन् । बुबाको साथले उनलाई मदजुरी गर्न सहज भएको छ । “घरको परिस्थितिका कारण बुवासित यहाँ आए, धेरैभन्दा धेरै भारी बोकेर खर्चको जोहो गर्नु हाम्रो नियति नै बनिसक्यो”, रावतले भने । 

    दसैँ तिहारमा कतिपय नेपाली घर जाँदा सो समयमा भारी बोक्ने काम बढी पाइने आशामा रावत बाबु–छोरा यसपाली नैनीतालमा बसेका छन् । यहाँ नेपाली मजदुर घरघरमा गएर तरकारी बेच्ने तथा होटलमा भाँडावर्तन सफा गर्ने काममा  बढीजसो खटिने गरेका छन् । चारैतिर पहाड अनी बीचमा आकर्षक नैनीताल अवस्थित छ । कोरोना महामारीमा सुनसान बनेको नैनीतालमा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ । योसँगै नेपालीले पनि काम गर्ने अवसर पाएका छन् । 

    नैनीताल, खुर्पा ताल, भीम ताललगायत क्षेत्रमा झण्डै पाँच सयको हाराहारीमा नेपाली कार्यरत छन् । नैनीताल क्षेत्रमा सिमेन्ट, छड, तरकारी, ग्यास सिलिण्डरलगायत अन्य घरायसी सामान ढुवानी गर्नमा उनीहरु दिनरात व्यस्त देखिन्छन् । दुरी तथा तौलका हिसाबले उनीहरुलाई पारिश्रमिक दिइन्छ ।  

    “नेपाली नागरिक इमान्दार भएर लामो समयदेखि काम गर्दैआएका छन्”, नैनीतालका एक होटल व्यवसायीले भने, “होटलमा तरकारी बोक्नेदेखि घर घरमा ग्यास पुर्याउने काममा नेपालीको ठूलो साथ र सहयोग छ ।”

    बझाङ्गको तलकोटका नवराज विष्ट दसैँका लागि घरमा सरसामान पठाए पनि आफू भने नजाने मनस्थितीमा छन् । उनले भारी बोक्न थालेको झण्डै डेढ दशक भयो । होटलमा तरकारीको भारी बिसाउँदै गरेका विष्टले भने, “यहाँको कमाइले घरखर्च चलाउन सहज भएको छ ।”

    परिवारको पालनपोषण नैनीतालको भारी बोकाइले चल्दै आएकाले चाडपर्वको खासै महत्व नहुने उनले बताए । “ताकत हुँदासम्म भारी बोक्ने हो, त्यसपछि घर जानु त छँदै छ”, विष्टले भने । 

    कालिकोटको खानीत्रिवेणीका ५६ वर्षीय शेरबहादुर विकले भने नैनीतालमा भारी बोकेर कमाएको पैसाले छोरा जीवनलाई काठमाडौँमा लोकसेवाको तयारी गराउँदै छन् । “छोरा पढाउन लाखौँ ऋण काढेको छु, दसैँ सम्झेर घर जाने अवस्था छैन, घर गए सब चौपट हुन्छ”, उनले भने,“छोरो जागिरे होला र बुढेकासलमा घरमा सुखका साथ बस्न पाइला भन्ने आशामा भारी बोक्दै छु ।”

    मुख्यतया सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिक यहाँ रोजगारीका लागि आउने गरेका छन् । उनीहरुका लागि नैनीताल रोजगारीको प्रमुख गन्तव्य हो । बाजे, बुबादेखि नातीसम्मको पुस्ता यहाँ एकसाथ भारी बोक्ने गरेको पाइन्छ । यहाँ मजदुरी गर्ने अधिकांश नेपालीले आफ्नो कमाइ छोरा छोरीको पढाइमा खर्चिदै आएका छन् ।

    – रासस 

    प्रकाशित मिति :आश्विन २८ २०८० आइतवार - ०७:१०:०८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij