२०८२ भाद्र १ गते आइतवार
साउदी अरेबियाको रोजगारीमा समस्या देखिएपछि सरकारी कर्मचारी र वैदेशिक रोजगार व्यवसायीको एक टोली अध्ययन भ्रमणमा जाने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक सहसचिवको नेतृत्वमा जाने टोलीमा वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दहाल, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी र महासचिव मेघनाथ भुर्तेललगायत रहने बताइएको छ । दशैं अगाडि फर्किने गरी टोली अक्टोबर ११ तारिखमा साउदी जाने तयारीमा लागेको छ ।
साउदी अरेबिया अदक्ष नेपाली कामदारको प्रमुख श्रम गन्तव्य हो । तर नेपालले श्रम सम्झौता बिना कामदार पठाउँदा उनीहरू समस्यामा पर्ने गरेका छन् । उक्त मुलुकमा निर्माण मजदुरको क्षेत्रमा ठूलो संख्यामा नेपाली कामदार रहेका छन् ।
पछिल्लो पटक सप्लाई कम्पनीमा जाने कामदारको समस्या गम्भीर बनेको छ । साउदी अरेबियामा सप्लाई अन्तर्गत लेवर र क्लिनर भिसामा जाने नेपाली कामदार बढी समस्यामा पर्ने गरेको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् । रोजगारदाताले उनीहरूलाई समयमा अकमा नबनाइदिने प्रवृत्ति व्यापकरूपमा रहेकोे छ ।
साउदी अरेबियामा सप्लाई कम्पनीमा गएका धेरै नेपाली कामदार समस्यामा परेपछि वैदेशिक रोजगार विभागले नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग छलफल गर्दा विभागका महानिर्देशक दहालले तत्कालका लागि सप्लाई कम्पनीको श्रम स्वीकृति रोक्नुपर्ने धारणा राखेका थिए । तर संघको आग्रहमा सप्लाई कम्पनीको समस्यालाई समाधान गर्न यस्ता कम्पनीहरूमा नेपाली कामदारको मागपत्र प्रमाणीकरण गर्नुअघि रोजगारदाता कम्पनीले कुन सप्लाई कम्पनीमा काममा लगाउने हो त्यसको विस्तृत विवरण मागपत्रसँगै अनिवार्य पेश गर्ने विकल्पमा समस्याको अल्पकालीन समाधान निकालिएको थियो ।
साउदी अरेबियास्थित नेपाली दूतावासले पनि सप्लाई कम्पनीमा जानु अगाडि नै कस्तो कम्पनीमा जाँदैछु भन्नेमा कामदार प्रष्ट हुनुपर्ने बताएको छ । दूतावासले सप्लाई पनि बहुतहसम्मको हुने भएकाले अधिकांश सप्लाई कम्पनीमा पारिश्रमिक तथा अतिरिक्त समयको सुविधा न्यून हुने गरेका कारणले समस्या आइरहेको बताएको छ ।
नेपाली टोलीले सप्लाई कम्पनीलगायत साउदी अरेबियाको रोजगारीका सबै क्षेत्रमा देखिने समस्याको समाधान खोज्ने बताइएको छ । व्यवसायीसहितको श्रम मन्त्रालयको टाली साउदी अरेबिया गएर स्वदेश फर्किँदा यूएई पनि पुग्ने योजनामा रहेकोे बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij