Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नयाँ खिम्ती सवस्टेसनको क्षमता वृद्धि, अब विद्युत् खेर नजाने

नयाँ खिम्ती सवस्टेसनको क्षमता वृद्धि, अब विद्युत् खेर नजाने


  • 2.1K
    Shares

    • images
    नयाँ खिम्ती सवस्टेसनको क्षमता वृद्धि, अब विद्युत् खेर नजाने
    images

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी) स्थित दुई सय २० केभी क्षमताको नयाँ खिम्ती सवस्टेसनको क्षमता वृद्धि गरेको छ ।  

    कूल २२०/१३२ केभी सवस्टेसनमा जम्मा एक सय एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा थप दुई सय एमभिएको अटो ट्रान्सफर्मर थप गरिएको छ । थप गरिएको ट्रान्सफर्मरलाई चार्ज गरी सञ्चालनमा ल्याइएको छ । योसँगै २००/१३२ केभी सवस्टेसनको क्षमता अभिवृद्धि भई तीन सय एमभिए पुगेको छ । 

    सरकार र प्राधिकरणको लगानीमा रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती प्रसारण लाइन आयोजनाअन्तर्गत सवस्टेसनको क्षमता वृद्धि गरिएको हो ।

    कूल एक सय ३२ केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई नयाँ खिम्तीमा राखिएका ट्रान्सफर्मरबाट दुई सय २० केभीमा बढाएर खिम्ती–ढल्केबर दुई सय २० केभी प्रसारण लाइनमार्फत ढल्केबरतर्फ प्रवाह गरिने छ । एक सय ३२ केभी प्रसारण लाइनबाट आएको विद्युत् प्रवाहका लागि नयाँ खिम्ती सवस्टेसनमा राखिएको पावर ट्रान्सफर्मरको क्षमताले नधानेपछि नयाँ ट्रान्सफर्मर थप गरिएको हो ।

    तामाकोशी, खिम्ती र लिखु नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् एक सय ३२ केभी प्रसारण लाइन हुँदै नयाँ खिम्तीमा समाहित हुँदा सवस्टेसनको क्षमताले नधान्ने अवस्था थियो । यसले गर्दा मुख्यरूपमा लिखु नदीमा निर्माण भएका केही जलविद्युत् आयोजनाको विद्युत् पूर्णरूपमा प्रवाह हुन सकिरहेको थिएन ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ खिम्ती सवस्टेसनमा राखिएका नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै लिखु नदी करिडोरमा सञ्चालित जलविद्युत् आयोजनाले बेहोरिरहेको विद्युत् प्रवाहको समस्या समाधान भएको बताए । 

    नयाँ खिम्तीको सवस्टेसनको क्षमताले नधानेपछि लिखु करिडोरमा निर्माण भएका केही जलविद्युत् आयोजनाको विद्युत् अल्पकालीन योजनाअन्तर्गत जोड्ने व्यवस्था गरिएको थियो । कार्यकारी निर्देशक घिसिङले भने, “नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै सबै समस्या समाधान भएका छन्, पूर्वाधार अभावमा विद्युत् प्रवाह हुन नसक्ने अवस्थाको अन्त्य भएको छ, नयाँ आयोजना आउँदा पनि समस्या पर्दैन, अब भारतर्फ विद्युत् निर्यातको परिमाणसमेत बढ्ने छ ।”

    तामाकोशी, खिम्ती र लिखु नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई नयाँ खिम्ती सवस्टेसनमा नयाँ पूर्वाधार बनाएर स्थानीयरूपमा आपूर्तिको पनि व्यवस्था गरिएको आयोजना प्रमुख अनुप गौतमले बताए । उनले सवस्टेसनबाट विद्युत् दिन थालेपछि उपभोक्ताले पर्याप्त, भरपर्दो र गुणस्तरीय आपूर्ति पाएको उल्लेख गरे ।  

    स्थानीयरूपमा आपूर्ति गरी बाँकी रहेको विद्युत्लाई २२० केभी प्रसारण लाइनमार्फत धनुषाको ढल्केबरतर्फ र १३२ केभी लाइनमार्फत सिन्धुपाल्चोकको लामोसाँघु सवस्टेसनतर्फ प्रवाह गरिएको छ । दुई सय २० केभीको नयाँ खिम्ती सवस्टेसन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण गरेको थियो । उक्त आयोजनाले एक सय एमभिएको मात्र पावर ट्रान्सफर्मर राखेको थियो । 

    स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको १३२/३३/११ केभीको सवस्टेसन गत असारदेखि सञ्चालित छ । नयाँ खिम्तीमा १३२/३३ केभीको सवस्टेसन पूर्वाधार निर्माण आर्थिक वर्ष २०७६/७७ मा सुरु गरिएको थियो । सवस्टेसनको लागत करिब रु ८० करोड रहेको छ । 

    प्रकाशित मिति :आश्विन ११ २०८० बिहिवार - ०८:१९:३८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij