Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

नेपालको पूर्वाधार विकासमा साउदीको चासो, मन्त्री ज्वालासँग छलफल

नेपालको पूर्वाधार विकासमा साउदीको चासो, मन्त्री ज्वालासँग छलफल


  • 1.9K
    Shares

    नेपालको पूर्वाधार विकासमा साउदीको चासो, मन्त्री ज्वालासँग छलफल
    images

    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालका लागि साउदी अरबका राजदूत साद नासिर अब्दुल्लाह अबु हमिदबीच पूर्वाधार विकास र आयोजना साझेदारीका विषयमा छलफल भएको छ।

    बुधबार भएको भेटवार्तामा मन्त्री ज्वालाले साउदी अरब रोजगारीको गन्तव्य भएको बताउँदै अब भौतिक पूर्वाधार र यातायातका क्षेत्रमा पनि साझेदारी गर्नुपर्ने बताए।

    'साउदीमा नेपालीको श्रमले ठूलो भौतिक विकास भएको छ। त्यहाँको स्रोत, साधन र प्रविधि नेपालको भौतिक विकासमा आवश्यक छ,' मन्त्री ज्वालाले भने, 'साउदी अरबमा करिब चार लाख नेपाली कामदारले श्रम गरिरहेका छन्। उनीहरूले पनि केही दक्षता पाएकै छन्। त्यो दक्षता भौतिक विकासमा लगाउन हामी तयार छौं। त्यसका लागि साउदी सरकारको सहयोग हामीलाई आवश्यक छ।'

    साउदी सरकारले साउदी विकास कोषमार्फत नेपालको भौतिक पूर्वाधारको विकासमा सहयोग गरेको भन्दै मन्त्री ज्वालाले विकास परियोजना बढाउन आग्रह गरे।

    'नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति हुँदैछ। त्यसका लागि विकासलाई तीव्रता र दिगोपन सुनिश्चित गर्न पूर्वाधार क्षेत्रमा थप लगानी र सहायता आवश्यक छ,' मन्त्री ज्वालाले भने।

    साउदी राजदूत हमिदले नेपालको पूर्वाधार तथा यातायातका क्षेत्रमा सहकार्य गर्न आफूहरू तयार रहेको बताए। 'पूर्वाधार विकासमा साझेदारी गर्न हाम्रो देश तयार छ। तर त्यसका लागि ठोस प्रस्ताव नेपाल सरकारले दिनुपर्‍यो,' राजदूत हमिदले भने।

    साउदी अरेबियाले वर्ल्ड एक्सपो, २०३० आयोजना गर्नका लागि उम्मेदवारी दिएको छ। साउदीसँगै दक्षिण कोरिया र इटालीले पनि आयोजनाका लागि उम्मेदवारी दिएका छन्। तर नेपालले साउदी अरबलाई सहयोग गर्ने निर्णय गरिसकेको मन्त्री ज्वालाले बताए।

    प्रकाशित मिति :भाद्र ७ २०८० बिहिवार - ०६:२५:५४ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij