२०८२ भाद्र १ गते आइतवार
वैदेशिक रोजगार विभागको अनुगमन टोलीले चितवनको रत्ननगर २ स्थित बिष्ट कम्प्लेक्समा २३ बर्षका फरमान हवारीले खोलेका म्यानपावर कार्यालयमा छापा मारेको छ । विभागको टोलीले युरोपका विभिन्न देशमा पठाउने भन्दै पासपोर्ट र पैसा असुली गर्दै आएका हवारीले अवैध रुपमा खोलेको म्यानपावरमा छापा मारेको हो।
अनुगमन टोलीका अनुसार हवारीले अवैध तरिकाले नक्कली म्यानपावर खडा गरी कार्यालय संचालन गरेको भेटिएको छ। उनले डायनामिक ग्लोबल रिसोर्स म्यानेजमेन्ट प्रा.लि.को नाममा तालिमलगायतको व्यवसाय गर्ने प्रयोजनमा कम्पनी खडा गरेको भए पनि, काम भने भिसा सम्बन्धि गर्ने भनी स्थानीय तहलाई समेत झुक्याएर व्यवसाय प्रमाणपत्र दर्ता गरेको फेला परेको छ।
हवारीले वैदेशिक रोजगार विभागको नक्कली इजाजतपत्र समेत बनाई उक्त कार्यालयलाई इजाजत प्राप्त म्यानपावर भन्दै ठगी गर्ने गरेको समेत भेटिएको छ। उनले युरोप जानको लागि युवाहरुलाई प्रभावमा पार्न विभागको नक्कली इजाजत पत्र बनाएका हुन्।
विभागको अनुगमन टोलीले उनको कार्यालयबाट तीन प्रति एसएलसीको किर्ते प्रमाणपत्र, सीपीयू तीन थान, ल्यापटप एक थान, कार्यालयको सिसिटिभीको हार्ड डिस्क एक थान, बिभिन्न देशको डिमाण्ड लेटर भएको दुई थान फाइल, बिभिन्न व्यक्तिहरुको बायोडाटा समेत भएको दुई थान फाइल, अधिकांशसँग पैसा अशुली भईसकेको खुलेको ६७ थान राहदानी, फोन कल डायरी एक थान, कार्यालय तथा संचालकको प्रमाणपत्रहरु तीन थान, शंंकास्पद प्रहरी रिपोर्ट रहेको एक थान फाइल र वैदेशिक रोजगार विभागको नक्कली इजाजतपत्रको फाइल बरामद गरेको छ।
विभागका अनुगमन अधिकृत कुशल बराल नेतृत्वको टोलीले उक्त कार्यालयमा संचालक नरहेको अवस्थामा उनका दाजु सलमान हवारी, रत्नगर नगरपालिका वडा नम्बर २ का जनप्रतिनिधिहरु, इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीहरु र उक्त अवैध कार्यालयमा काम गर्दै आएका कर्मचारीहरुको रोहबरमा थप अनुसन्धानको लागि कार्यालयका सामानहरु बरामद गरेको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij