२०८२ कार्तिक ३० गते आइतवार
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गरेका छन् । आइतबार निरीक्षणमा पुगेका मन्त्री पाण्डेले अहिले भइरहेको भन्दा स्तरीय र विस्तारित सेवा दिन निर्देशन दिए ।
‘सेवा थप सुधार गरेर यहाँ आउने बिरामीलाई सहुलियतमा सजिलो गरी सुविधा दिनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भने । संक्राम तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका बिरामीबाट अन्य रोगका बिरामीमा संक्रमण नहोस् भन्ने उद्देश्यले उपचार सेवामा विशेष ध्यान दिन मुख्यमन्त्री पाण्डेले सुझाव दिए ।
अस्पतालमा उपचार गर्न जाने बिरामीको सजिलोका लागि र्याम्प निर्माण भएको भएपनि लिफ्ट नहुँदा समस्या हुने गरेको डाक्टर विकास गौचनले बताए । मुख्यमन्त्रीले बिरामीको सुरक्षाका लागि लिफ्ट राख्न जरुरी भएको बताउँदै भने र्याम्प भएर आउजाउ गर्ने ठाउँपनि व्यवस्थित गर्नुपर्ने रहेछ ।’
पाण्डेले अस्पतालमा रहेका बिरामीको अवस्था, उपचार गराउन आउने दर, प्रविधि र उपकरणको उपलब्धता, जनशक्तिको अवस्था, भौतिक अवस्था लगायतका बारेमा जानकारी लिएका थिए ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव बिनोद, बिन्दु शर्मा, अस्पतालका डाक्टर विकास गौचन लगायतले अस्पतालको अवस्थाका बारेमा जानकारी गराएका थिए । अस्पतालले छिट्टै डायलिसिस सेवा सुरु गर्ने गरी तयारी गरिरहेको छ । उक्त अस्पतालबाट जनरल ओपिडी सेवा देखि बिरामी भर्ना, उपचार नियमित हुँदै आएको छ ।
सरुवा तथा संक्रामक रोग लागेका बिरामीलाई छुट्टै आईसोलेट गरेर अन्य बिरामीलाई छुट्टै सेवा दिने गरिएको डाक्टर गौचनले बताए । पोखरा महानगर ३० स्थित प्रदेश सरकार मातहतको उक्त अस्पतालको अहिले नयाँ भवन निर्माणाधीन छ । निर्माणाधीन भवनको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले छिटो काम सम्पन्न गराउनुपर्नेमा जोड दिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij