२०८२ कार्तिक ३० गते आइतवार
काठमाडौँ । अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ प्रकरणमा पक्राउ परेका ११ जना कलाकारविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।
उनीहरुविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ३ देखि ११ वर्षसम्म कैद सजाय माग गरेको छ। यो प्रकरणका मुख्य योजनाकारका रुपमा रहेका कैलालीको लम्किचुहा नगरपालिका-१० घर भई हाल काठमाडौं महानगरपालिका ७ चावाहिल बस्ने २८ वर्षीय दिनेश खड्कासहित ११ जनाविरुद्धको मुद्दा अदालतमा पुगेको हो।
अनलाइन जुवा प्रकरणमा खड्काकी पत्नी काभ्रेपलान्चोक धुलिखेल नगरपालिका ११ भाइती भई लम्कीचुहा-१० की २९ वर्षीय अनिता धितालविरूद्ध पनि मुद्दा चलाइएको छ।
‘वान एक्स बेट’मार्फत अनलाइन जुवा स् पक्राउ परे कलाकार बल्छी ध्रुवे
अनलाइन जुवा खेलाउन एकै व्यक्तिले खोले १२ जनाको नामबाट ६३ वटा बैंक खाता, ६४ करोडको अवैध कारोबार
‘वान एक्स बेट’मा कलाकारसहित ११ जनाविरुद्ध मुद्दा दर्ता, ३ देखि ११ वर्षसम्म कैद माग
खड्कासहितका केही व्यक्ति वान एक्स बेटको एजेन्ट भएर कारोबार गरे गराएको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ। युट्युबर र कलाकारहरुले नेपालमा गैरकानुनी एप्लिकेशन वान एक्स बेटको प्रचार गरेर रकम लिएको आरोप छ।
उनीहरुले विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा (१) बमोजिम कसुर गरेको आरोप छ।
यस्तै दिनेश खड्का र अनिता धितालले क्रिप्टो करेन्सीको बित्तिय कारोबार कुल बिगो ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ गरी सट्टाबाजि गराउने गरेको र आफू उपरको प्रमाण दबाउने कार्य गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ।
उक्त कार्य नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ र २, मुलुकी अपराध संहिता २०७४ दफा १२५ को उपदफा (४) दफा ९३ को उपदफा (१) र दफा ४३ उपदफा (१) बमोजिमको कसुर भएको प्रमाणबाट पुष्टि भएको दाबी छ।
दिनेश खड्का र अनिता धिताललाई ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ९६ को उपदफा (१) बमोजिम उक्त बिगो जफत गरी सजाय गर्न माग गरिएको छ।
यस्तै उनीहरुसहित १११ जनालाई नै विज्ञापन नियमन ऐन अनुसार पनि सजाय गर्न माग गरिएको छ। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ अनुसार यस अभियोगमा कसुरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणा जरिवाना र ७ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।
विज्ञापन नियमन ऐन २०७६ अनुसार यस्तो कसुरमा संलग्न व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। सट्टाबाजीको कसुरमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
अभियुक्तहरुको आजदेखि जिल्ला अदालत काठमाडौंमा बयान सुरु हुनेछ। बयान सकिएपछि थुनछेक बहस हुनेछ। त्यसपछि उनीहरुलाई मुद्दाको पुर्पक्षका क्रममा थुनामा राख्ने कि थुनाबाहिर भन्ने आदेश हुनेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij