२०८२ माघ १० गते शनिवार
नयाँ बसपार्कको टिकट काउन्टरमा काम गरेर गुजारा चलाउने हरिबहादुर (नाम परिवर्तन)को दुर्घटनामा मृत्यु भयो । परिवारका मुख्य मान्छेको मृत्युपछि दैनिक गुजारा चलाउन कठिन भयो । आमा–छोरी जागिरको खोजीमा थिए । माछापोखरीस्थित डेरामा बस्ने बागलुङकी पूर्णिमा सिर्पाली बस्नेतले ती आमाछोरीलाई भेटिन् । ‘टर्की पठाइदिन्छु, महिनाको ९० हजारसम्म तलब हुन्छ,’पूर्णिमाले भनिन् ।
आमा छोरीले सोधिन् , ‘कस्तो काम गर्नुपर्छ, पैसा कति लाग्छ ?’
२० लाख खर्च गरेमा जीवन नै परिर्वतन हुने र टर्कीमा स्पामा जागिर खाने गरी त्यहाँ पठाउने आश्वासन पाएपछि आमाछोरी जान तयार भए । टोखामा रहेको जग्गा बेचेर उनीहरुले २० लाख बुझाए । पैसा लिएपछि पूर्णिमा तर्किन थालिन् । आमा, छोरीले, ‘हामी विदेश जाँदैनौं’ भनेर पैसा माग्दा पूर्णिमाले टर्कीमा रहेको आफ्नो बुबासँग पीडितलाई कुरा गराएर विश्वासमा पारिन् । अनि, ०७७ असोज २२ मा त्रिभुवन विमानस्थलबाट टर्किस एयरलायन्सको टिकट काटेर टर्की पठाइन् ।
उनीहरुले टर्की पुगेपछि पूर्णिमा बस्नेतको बुबासँग भेटे । ३ हप्ता आफ्नो डेरामा राखेपछि पूर्णिमाका बुबाले छोरीलाई रेष्टुरेन्टमा काम गर्न पठाए । तर, आमालाई चाहिँ ग्रिस पठाइदिन्छु भनेर २ हजार लिरामा टर्कीको बोर्डरमा लगेर बेचे । थाहा पाएपछि दूतावाससँगको समन्वयमा छोरी मंसिर ८ मा र आमा पुस २६ मा नेपाल फर्किए । पीडितको जाहेरीको आधारमा पूर्णिमा सिर्पाली बस्नेत र गोरखा घर भएका जीवन भट्टलाई पक्राउ गरिएको छ ।
तार्केश्वरस्थित जरंखुमा बस्ने भट्टले आमाछोरीलाई ताहाचलस्थित श्रम कार्यालयमा भेटेर टिकट र अन्य कागजात तयार गरेर दिएका थिए । पक्राउ परेकाहरूमाथि मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसार अनुसन्धान भइरहेको ब्युरोका सुचना अधिकारी (डिएसपी) ढुण्डीराज न्यौपानेले बताए । जीवन र पूर्णिमाबाट पीडित थप १२ जना ब्यूरोको सम्पर्कमा पुगेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij