२०८२ माघ १० गते शनिवार
अर्को अस्पतालबाट रेफर भई आएको एउटा केस र त्यससम्बन्धी पत्र सार्वजनिक गर्दै बिहीबार बिहान चिकित्सक पवित्रा अधिकारीले ट्विटरमा लेखिन, ‘इर्मजेन्सीको डियुटीमा रहँदा यो रिफर्ड केस हेर्नुपर्यो। छोरी भएकै कारण जिउँदै बच्चालाई माटोभित्र पुरिएछ। नेपालमा अझै पनि यस्तो भइरहेको छ।’
त्यसबारे आफ्नाे धारणा राख्दै सतिश कोइरालाले लेखेका छन, ‘भर्खर जन्मेको जिउँदो नवजात शिशु ‘छोरी’ भएकै कारण गाड्न लगाउने, सहयोग गर्ने फेरि महिला नै हुन्छन् र अचम्म लाग्छ। आफ्नै बच्चा जिउँदै गाड्नसक्ने कसरी हुन्छ, मानवता भन्ने कुरो बाँकी भएन।’
इनरुवा अस्पताल सुनसरीको रिपोर्टमा ती महिलाले गोप्यरुपमै शिशु जन्माएको र त्यसपछि शिशुलाई पुरेको उल्लेख छ। सोहि क्रममा प्रहरीले उनलाई पक्राउ गरी अस्पताल ल्याएको अस्पतालको रिपोर्टमा लेखिएको छ।
तर प्रहरीको प्रारम्भिक अनुसन्धानमा अधिकारीले भनेजस्तै ‘छोरी’ भएकै कारण नवजात शिशुलाई पुरिएको देखिन्न। इलाका प्रहरी कार्यालय दुहवीका इन्स्पेक्टर घनेन्द्र हाङखदुमका अनुसार प्रारम्भिक अनुसन्धानमा अविवाहित युवतीले बच्चा जन्माएपछि त्यसलाई लुकाउन त्यसाे गरिएकाे पाइएको छ।

‘प्रारम्भिक अनुसन्धानमा छोरी भएकै कारण मार्न खोजिएको देखिँदैन,’ उनले भने, ‘उहाँ अविवाहित महिला हो, कसैसँगको सम्पर्कबाट अनिच्छित गर्भ रह्यो होला त्यसैले लुकाउन खोज्दा उक्त घटना भएको देखिन्छ। विस्तृतमा अनुसन्धान हुन बाँकी छ।’
बिहीबारमात्रै डिस्चार्ज भएकी आमालाई प्रहरी चौकीमा ल्याएर सोधपुछको काम गर्ने काम भइरहेको उनले बताए।
घटना के हो?
गत मंगलबार सुनसरीको गढी–६ स्थित मेडिकल हलमा एकजना युवती ढाड दुख्यो भन्दै उपचारका लागि आइपुगिन्। डाक्टरले उनलाई औषधि दिएर त्यो लगाउन भने। औषधि लिएर निस्केकी युवती मेडिकल हलकै ट्वाइलेटमा छिरिन्। करिब आधाघण्टा समय उनले ट्वाइलेटमै बिताइन्। बाहिर निस्कदा उनले शिशु लिएर आएकी थिइन्।
अविवाहित भएका कारण बच्चा जन्माएपछि डरले ट्वाइलेटकै छेउछाउमा रहेको फोहोर जलाएको खरानीमा उनले बच्चा पुर्न खोजेकी अनुसन्धानका क्रममा खुलेको छ।
पुर्दापुर्दै बच्चा रोएपछि अस्पतालमा रहेका अन्यले थाहा पाए र प्रहरीलाई खबर गरियो। नजिकै रहेको प्रहरीले त्यस बच्चालाई तत्काल उद्धार गरी जिल्ला अस्पताल इनरुवामा पुर्याएका थिए।
त्यहाँ लग्दासम्म बच्चा रुदैँ थियो। तर जिल्ला अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान भनेपछि आफूहरुले विराटनगर पुर्याएको तर विराटनगरमा बच्चाको निधन भएको प्रहरीले जनाएको छ।
प्रहरीले बच्चासँगै आमालाई पनि विराटनगर लगेको थियो। कोशी अस्पतालले आमालाई बिहीबार डिस्चार्ज गरेपछि उनलाई थप सोधपुछका लागि प्रहरी चौकी ल्याइएको छ।
बच्चा जन्माएर मारेको पाइएकोले विस्तृत अध्ययनपछि उनलाई सोहि अभियोगमा कर्तव्य ज्यान मुद्दा अगाडि बढाइने इन्स्पेक्टर हाङखदुमले बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij