२०८२ भाद्र ११ गते बुधवार
चितवन । कृषकलाई बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने गरी काम भइरहेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताएकी छन् । बीसौँ राष्ट्रिय धान दिवसको अवसरमा चितवनको भरतपुरमा आज आयोजना गरिएको रोपाइँ महोत्सवमा उनले आकाशको पानी कुरेर कृषकले धान रोप्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएकी हुन् ।
‘भरतपुर महानगरपालिकामा सबै खालका खेतीको सम्भावना छ”, उनले भनिन्, ‘धान, गहुँ, तोरी, तरकारी खेतीसहित सबै अन्नबालीको राम्रो उत्पादन भइरहेको छ, त्यसैले अब यहाँका किसानलाई बाह्रै महिना पानीको सुविधा पुर्याउन हामीले काम गरिरहेका छौँ ।’
अहिले महानगरमा सिँचाइको पर्याप्त व्यवस्था गर्न नसक्दा किसान दुःखी भएका उल्लेख गर्दै उनले वैकल्पिक व्यवस्था गरेर भए पनि महानगरपालिकाले भूमिगत सिँचाइका साधन बोरिङ, स्यालो ट्युबबेल, ट्युबबेलका माध्यमबाट पानीको सुविधा पुर्याइरहेको जानकारी दिइन् ।
‘अहिले नारायणी लिफ्ट सिँचाइमा काम भइरहेको छ, त्यहाँ अत्याधुनिक उपकरण जडान भइरहेको छ,’ उनले भनिन्, ‘निकट भविष्यमा हामीले त्यसलाई सञ्चालनमा ल्याउनेछौँ, किसानले आकाशको पानी कुरेर बस्नुपर्दैन ।’
आज राष्ट्रिय धान दिवसको अवसर पारेर भरतपुरमा पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री आउनुले पनि यहाँको कृषि क्षेत्रले सबैको ध्यान खिचेको दाहालको भनाई थियो । भरतपुर भ्रमण वर्षको पूर्वसन्ध्यामा यसरी देशका शीर्ष नेता यहाँ आउनुले भरतपुरको प्रचारप्रसारमा थप टेवा पुगेको उनको भनाइ छ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरु पनि धान दिवस मनाउन चितवन पुगेका छन् ।
महानगरपालिकाले किसानलाई अनुदानमा बीउबिजन उपलब्ध गराउँदै कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको उनले बताइन् । पछिल्लो पाँच वर्षमा महानगरपालिकाले सात हजार बिघा क्षेत्रफलमा वैकल्पिक व्यवस्था गरेर सिँचाइ पुर्याएको भन्दै उनले सिँचाइका लागि मात्रै रु चार अर्ब बढीको आयोजना सञ्चालनमा रहेका बताइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij