Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

फागुन १५ गतेदेखि ‘राइडर सेवा’ सञ्चालनमा

फागुन १५ गतेदेखि ‘राइडर सेवा’ सञ्चालनमा


  • 6.8K
    Shares

    फागुन १५ गतेदेखि ‘राइडर सेवा’ सञ्चालनमा

    काठमाडौं । नेपालमा नयाँ राइड सेयरिङ कम्पनीले आफ्नो सेवा सञ्चालन गर्ने भएको छ । ‘राइडर सेवा’ नामक नयाँ कम्पनीले यही फागुन १५ गतेदेखि राइड सेयरिङ सेवा सुरु गर्न लागेको कम्पनीले जनाएको हो ।

    राइडर सेवाले मोटरसाइकल, ट्याक्सीलगायतमा राइड सेयरिङ गर्न सकिने गरी राइडर सेवा नामक सेवा सुरु गर्न लागेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत संगम राईका अनुसार, यही फागुन १५ भित्रै आफ्नो सेवा सुचारु गर्ने जनाएका छन् । 

    ‘सुरुमा राइडर सेवाले मोटरसाइकल तथा ट्याक्सीमा सेवा प्रदान गर्ने तयारी गरेको छ,’ अधिकृत राई भन्छन्, ‘विस्तारै हामीले बस र हवाई जहाजको टिकट काट्ने सेवा पनि दिने लक्ष्य राखेका छौँ ।’ त्यस्तै, अहिले नै राइडर सेवाको एप डाउनलोड गरेर तयारी अवस्थामा बस्ने सेवाग्राहीले निश्चित अवधिसम्म निःशुल्क सेवा लिन पाउने पनि उनले खुलाए । राईका अनुसार, प्रयोगकर्ताको सङ्ख्या निश्चित सीमामा नपुग्दासम्म ग्राहकलाई निःशुल्क सेवा प्रदान गर्ने योजना रहेको छ । 

    अधिकृत राईका अनुसार उक्त सेवा सञ्चालनका लागि आवश्यक पर्ने एप तयार भई आइओएस र एन्ड्रोइडमा अपलोड भइसकेको छ । ‘अहिले नै सर्वसाधारणले मोबाइलमा राइडर सेवा एप डाउनलोड गर्न सक्नुहुन्छ,’ राईले भने, ‘अहिले हामी कार्यालय सेटअपको अन्तिम चरणमा छौँ । फागुन १५ भित्रै अप्ररेनमा जान्छौँ होला ।’

    यस्तै, कम्पनीले तयार पारेको राइडर सेवा चर्चित पठाओ, टुटलजस्तै कम्प्युटर एपमार्फत सेवाग्राही र सेवाप्रदायकलाई जोड्ने एप हो । आफ्नो बाइक वा ट्याक्सीमार्फत सेवा दिएर आम्दानी गर्न चाहने वा उक्त सेवा लिन चाहने व्यक्तिले राइडर सेवा नामको एप डाउनलोड गर्नुपर्छ ।

    काठमाडौंबाट सुरु गर्ने सेवा बिस्तारै प्रमुख सहर हुँदै देशव्यापी रुपमा आफ्नो सेवा विस्तार गर्दै अघि बढ्ने कम्पनीको लक्ष्य छ । कम्पनीका अनुसार, आफ्ना राइडरलाई स्वास्थ्य उपचारमा सहुलियत र प्रयोगकर्तालाई बिमा सेवा पनि दिने व्यवस्था गरिएको छ । राइडरबाट कम्पनीले लिने शुल्क पनि अरुको तुलनामा कम राख्ने कम्पनीको दाबी छ । 

    यो सेवा लिने–दिने दुवै पक्ष एपमा दर्ता हुनुपर्छ । अहिले नै एप डाउनलोड गरेर दर्ता गर्न सकिने राईको भनाइ छ । ‘एकपटक दर्ता भएपछि चाहेको बेला सेवा लिन वा दिन सकिन्छ,’ उनी भन्छन्, ‘एपमा आफू जाने स्थान उल्लेख गर्नेबित्तिकै एपले लाग्ने भाडा देखाउँछ ।’

    सेवाप्रदायक राइडरको हकमा कम्पनीले तोकेको कागजात एपमा राख्नुपर्ने र कम्पनीले सोको परीक्षण गरी सबै कुरा ठीक भए अनुमति दिने राईले बताए । उनका अनुसार सेवा दिन चाहने राइडरले सवारीसाधनको लाइसेन्स, ब्लुबुकजस्ता कागजपत्र पेस गर्नुपर्नेछ ।

    प्रकाशित मिति :फाल्गुण ११ २०७७ मंगलवार - १७:०२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij