Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

आज समाजवादी मोर्चा घोषणा नहुने

आज समाजवादी मोर्चा घोषणा नहुने


  • 2.2K
    Shares

    आज समाजवादी मोर्चा घोषणा नहुने

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरुले बनाउने भनेको समाजवादी मोर्चा आज घोषणा नहुने भएको छ । आन्तरिक तयारी नपुगेको भन्दै आज मोर्चा गठनको घोषणा नहुने भएको हो । यसअघि नेताहरुले आज असार १ गते मोर्चा गठनको घोषणा हुने बताएका थिए ।

    मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपा सहभागी हुने पक्का छ । यसमा डा. बाबुराम भट्टराई नेतृत्वको नेसपालाई पनि समेट्नेबारे छलफल भइरहेको छ ।

    एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले दलहरुको आन्तरिक तयारी नपुगेकाले आज मोर्चा घोषणा नहुने बताउँदै भने, ‘अझै एक–दुई दिन लाग्ने नै जस्तो देखियो, सबैको आन्तरिक बैठक र तयारी पूरा नभएको हुनाले ।’

    मोर्चाबारे छलफल गर्न आज एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको अनौपचारिक बैठक बसेको थियो । बैठकमा सो पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल अनुपस्थित थिए । त्यसैले औपचारिक निर्णय भएन । तर मोर्चामा सामेल हुने र छिटो घोषणा गर्नका लागि पहलकदमी लिने सर्वसम्मत निर्णय भएको नेता खतिवडाले जानकारी दिए ।

    सहकार्य गर्दै जाँदा भोलि कहाँ पुगिन्छ त्यो त भन्न सकिँदैन । तर आज पार्टी एकता गर्नको निम्ति या एकीकरण गर्नको निम्ति यो मोर्चा बनेको छैन- जगन्नाथ खतिवडा

    ‘यसका सैद्धान्तिक र व्यवहारिक दुवै पक्षहरुको बारेमा चर्चा गर्दै यसलाई अगाडि बढाउने पुरानो हाम्रो निर्णयलाई आज हामीले पुनः आन्तरिक रुपमा प्रमाणित गरेका छौं र एक प्रकारले सर्वसम्मतीले अनुमोदन गरेका छौं,’ उनले भने ।

    उनले समाजवादी मोर्चा छिटै घोषणा हुने समेत बताए । खतिवडाले भने, ‘हाम्रो पार्टीको आन्तरिक तयारी पूरा भइसकेको छ । अरु पार्टीहरुको केही कुरालाई पर्खनुपर्ने स्थिति भएको हुनाले आज चाहिँ यो समाजवादी मोर्चा नेपालको घोषणा हुन नसक्ने तर अत्यन्तै चाँडै यो घोषणा गर्ने ठाउँमा अन्य दलहरुसँग छलफल भइरहेको स्थिति छ ।’

    यसले संसदमा पनि र संसद बाहिर पनि समाजवादी विचारधारको प्रचार गर्ने र समाजवादका पक्षमा जनमत निर्माण गर्ने खतिवडाको भनाइ छ । साथै देशको विकास, सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्ने र आम जनतालाई दिने सेवा सुविधाको प्रवाहलाई सुव्यवस्थित गर्न दबाबकारी भूमिकासमेत खेल्न सक्ने गरी मोर्चा गठन गर्न लागिएको उनले बताए ।

    उनका अनुसार मोर्चाको संयन्त्र प्रदेश र जिल्लामा पनि बन्नसक्ने छ । ‘यो मोर्चा अहिले सम्पूर्ण रुपमा टुंगो भइसकेको छैन । तथापी प्रदेश र जिल्लामा यो मोर्चाको संयन्त्र बन्न सक्छ, बनाउन सकिने छ भन्ने यसको प्रारम्भिक प्रस्तावमा हामी अगाडि बढिरहेका छौं,’ खतिवडाले भने ।

    उनले मोर्चामा आबद्ध दलहरुबीच तत्काल पार्टी एकता नहुने बताए । ‘सहकार्य गर्दै जाँदा भोलि कहाँ पुगिन्छ त्यो त भन्न सकिँदैन । तर आज पार्टी एकता गर्नको निम्ति या एकीकरण गर्नको निम्ति यो मोर्चा बनेको छैन,’ खतिवडाले भने, ‘यो मोर्चा समाजवादी विचारधारा बोक्नेहरु, समाजवादको पक्षमा वकालत गरौं भन्ने सबै राजनीतिक शक्तिहरुलाई एक ठाउँमा उभ्याएर लेफ्ट फ्रन्ट बनाउनको निम्ति सहयोगी बन्नेछ र सबैले त्यही प्रकारले ध्यान दिनुहुनेछ भन्ने हाम्रो विश्वास छ । हामी सबै यो काम गर्नका लागि सबैलाई आह्वान गर्ने तयारी पनि गरिरहेका छौं ।’

    प्रकाशित मिति :आषाढ १ २०८० शुक्रवार - १२:४८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij