२०८२ भाद्र १० गते मंगलवार
घैरुङ । शहिदलखन गाउँपालिका–५ मास्किछापका स्थानीयको क्षयरोग परिक्षणका लागी खकारको नमूना संकलन गरिएको छ । कुल दुई सय तीन जनाको नमूना संकलन गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले बताए ।
उनका अनुसार केहीदिन अघि सो क्षेत्रस्थित सिद्धस्थानी माविको कक्षा दशमा अध्ययनरत एक बिद्यार्थीमा क्षयरोग देखिएको थियो । क्षयरोगको हिसावले सो क्षेत्र जोखिमयुक्त देखिएपछि नमूना संकलन गरिएको उनले बताए ।
‘क्षयरोग दिवस मनाउँने क्रममा यसको लक्षणहरु भन्दै गर्दा स्थानीयले हाम्रो समुदायमा यस्तो लक्षण भएका व्यक्ति देखिएका छ परिक्षण गरिदिनुप¥यो भनेपछि हामीले मंगलवार समुदायमै गएर खकारको नमूना संकलन गरेका हौ’, श्रेष्ठले भने ।
संकलन भएको नमूनाको बुंकोट स्वास्थ्य चौकीमा परिक्षण भइरहेको र एक साताभित्र रिपोर्ट आउने उनले जानकारी दिए । सो क्षेत्रका स्थानीयलाई मास्क अनिवार्य लगाउन र स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिएको उनको भनाइ छ । क्षयरोग श्वास प्रश्वासबाट सर्ने एक प्रकारको सरुवा रोग भएको उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij