२०८२ भाद्र ११ गते बुधवार
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र नेपाल टेलिभिजनबिच २०८० सालको लागि व्यवसाय प्रवद्र्धनका लागि टिभिसी प्रसारण गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि राष्ट्रिय वाणिज्य बैङ्कले उपलब्ध गराएको टिभिसी नेपाल टेलिभिजनबाट दैनिक १६ पटक समाचार अगाडि तथा बिचमा प्रसारण गर्नेछ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापश्चात दुबै संस्थाको व्यवसाय बृद्धि तथा सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गर्दै वित्तीय साक्षरता लगायतको कार्यक्रमलाई टेलिभिजनमार्फत नागरिकमा पुर्याउन सहयोग पुग्ने बताए ।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले दुबै सरकारी संस्थाको धेरै अवस्था मिल्ने बताउँदै राष्ट्र र जनताप्रतिको दायित्व पुरा गर्न सहयोग पुग्ने बताए । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैङ्कका उपकार्यकारी अधिकृत विमल डंगोल, विभागीय प्रमुख अच्युत गौतम, कम्पनी सचिव हेमराज खरेल, नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रमुख राजकुमार थापा लगायत दुबै संस्थाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बैङ्कको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाम सहित २७१ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखारहित बैङ्किङ्ग, क्यूआर कोड सेवा, पिओएस (प्वाइन्ट अफ सेल) सेवा क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैङ्किङ, परिष्कृत रूपको मोवाइल बैङ्किङ्ग (आरबिबि डिजिटल संसार) तथा बिना इन्टरनेट चल्ने युएसएसडि बैङ्किङ्ग सेवाहरू समेत सञ्चालनमा रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij