२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । भुक्तानी नेटवर्क ‘फोन पे’ र ‘लंका पे’बीच अन्तरदेशीय भुक्तानी प्रणालीसम्बन्धी सम्झौता भएको छ । नेपाल र श्रीलंकाबीच अन्तरदेशीय भुक्तानी प्रणाली विकास गर्ने उदेश्यका साथ यी दुई भुक्तानी नेट वर्कबीच सहकार्य भएको जनाइएको छ ।
सम्झौतामा फोनपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवसकुमार सापकोटा र लंका पेका सीईओ चन्ना डि सिल्भाले हस्ताक्षर गरे ।
उक्त डिजिटल भुक्तानी प्रणालीले दुई राष्ट्रबीचका प्रयोगकर्ताहरूलाई निर्वाध रूपमा भुक्तानी कारोबार गर्न सम्भव बनाउने कम्पनीले जनाएको छ ।
श्रीलंकाका नागरिकहरू नेपाल भ्रमण गर्दा लंका पेद्वारा अधिकृत मोबाइल एप प्रयोग गरी फोनपे नेटवर्कका विभिन्न मर्चेन्टहरूमा ‘क्यूआर’ भुक्तानी गर्न सक्ने फोनपेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै श्रीलंका जाने नेपाली नागरिकहरूले फोनपेद्वारा अधिकृत एपहरू प्रयोग गरी ‘क्यूआर’ भुक्तानी गर्न सक्नेछन् । यससँगै फोनपे वा लंकापेमध्ये जुनै पनि नेटवर्कको एप प्रयोग गरिरहेका पर्यटकहरूले यी दुई सञ्जालका मर्चेन्टहरूमा सरल र सुविधाजनक तरिकाले क्रसबोर्डर भुक्तानी गर्न सक्ने कम्पनीले जनाएएको छ।
फोनपेका अध्यक्ष विश्वास ढकालले उक्त सम्झौता फोनपेका लागि मात्र नभई सम्पूर्ण राष्ट्रका लागि डिजिटल भुक्तानी क्षेत्रमा अन्तरआबद्धता हासिल गर्ने ऐतिहासिक कदम भएको बताए ।
श्रीलंका-नेपालबीचको भुक्तानी अन्तरआबद्धताले उहिलेसम्म दुई देशबीच रहँदै आएको साँस्कृतिक सम्बन्धसँगै व्यापारिक कारोबारलाई पनि सहज र सर्वसुलभ बनाई दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनलाई महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास लिएको उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij