२०८२ माघ १० गते शनिवार
विराटनगर । विराटनगरस्थित मोरङ जिल्ला सरकारी वकीलको कार्यालयको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ ।
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भर्चुअल माध्यमबाट भवनको उद्घाटन गर्नुभयो । तीन कठ्ठा क्षेत्रफलमा रु तीन करोड १४ लाख ८२ हजार ४२५ लागतमा निर्मित तीन तले भवनमा २३ वटा सुविधा सम्पन्न कोठा रहेका छन् ।
भवन अपाङ्गता मैत्री, पीडित मैत्री कक्ष, पुस्ताकलय, अभिलेखालय, सभाहल र कार्यालय प्रमुखको आवाससहितको रहेको जिल्ला न्यायाधिवक्ता मनोजकुमार आर्चायले जानकारी दिनुभयो ।
महान्यायाधिवक्ता खरेलले तीन वर्षमा देशभरिमा ३९ वटा सरकारी वकिलको कार्यालयको भवन निर्माण भएको जानकारी दिँदै अपराधमुक्त समाज र न्याय सम्पादनमा राज्यले ठूलो लगानी गरेको बताउनुभयो ।
मोरङ अदालतका मुख्य न्यायाधीश मेदनीप्रसाद पौडेल, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, न्यायाधीश शिशिरराज ढकाल, किशोर घिमिरेलगायतले नवनिर्मित भवनबाट कार्य सम्पादनमा सहजता पुग्ने विचार व्यक्त गर्नुभयो । रासस
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij