२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । सगरमाथा आरोहण गर्ने क्रममा यो सिजनमा ११ जनाले ज्यान गुमाएका छन्। शुक्रबार एक मलेसियनसहित दुई आरोहीले ज्यान गुमाएसँगै सगरमाथा आरोहणको क्रममा ज्यान गुमाउनेको संख्या ११ पुगेको हो।
मलेसियन नागरिक अग अस्कन्दर बिन अम्पुअन याकुबलाई सगरमाथाको चुचुरोभन्दा ५० मिटर तल पुग्दा अचानक बिरामी परेपछि आधारशिविर ल्याईएको थियो। उनको सोही क्रममा मृत्यु भएको हो। अर्का एक जनाको भने पहिचान खुल्न बाँकी छ।
सगरमाथा आरोहणका क्रममा ११ जनाको मृत्यु भएको पर्यटन विभागद्वारा गठित अनुगमन समिति संयोजक खिमलाल गौतमले जानकारी दिए। ‘यस सिजनमा सगरमाथाको चुचुरोमा जाने क्रममा, चुचुरोमा पुगेर फर्किने क्रममा तथा सरसामान ओसारपसारका क्रममा गरी अहिलेसम्म ११ जनाले ज्यान गुमाएका छन्,’ उनले भने।
सगरमाथा आरोहण गर्न अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ४६६ आरोहीले अनुमति लिएका थिए। तीमध्ये कतिले सफल आरोहण गरे, त्यसको अन्तिम रिपोर्ट तयार हुँदै गरेको पर्यटन बोर्डले जनाएको छ। यस सिजनमा कामरिता शेर्पाले २७औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij