Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको माग

नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको माग


  • 1.8K
    Shares

    नक्कली  भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको माग
    images

    दमक / भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (विआरआरसी) ले नक्कली भुटानी शरणार्थी प्रकरणको स्वतन्त्र एवं निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । 

    समितिका कार्यबाहक अध्यक्ष तिलक राईले आज प्रेस विज्ञप्ति जारी गर्दै वर्षैदेखि झापा र मोरङका विभिन्न स्थानमा शरणार्थी शिविरमा कष्टकर जीवन बिताइरहेका भुटानी शरणार्थीलाई हालैका घटनाले गम्भीर असर पुर्याएको भन्दै यसको निष्पक्ष छानबिनको माग गरेका हुन् । 

    “यस्तो कार्यले गैर भुटानीलाई भुटानी र सक्कली भुटानीलाई गैर भुटानी बनाउनसक्ने गम्भीर आशङ्का पैदा गरेको छ । गैर भुटानीलाई भुटानी बनाएर पश्चिमा देश खासगरी अमेरिका लैजान ठूलो गिरोह संलग्न भएको र यसमा केही नेपाली नागरिकदेखि उच्च तहका कर्मचारी र पूर्वमन्त्रीसमेत गिरफ्तार भइसकेको घटनाप्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ, “नक्कली भुटानी शरणार्थी प्रकरणले हामी शिविरमा बस्दैआएका सक्कली भुटानी अत्यन्तै दुःखित भएका छौँ ।”

    स्वदेश फिर्ती र परिवार मिलनको आशामा कष्टपूर्ण जीवन बिताइरहेका करिब ६ हजार ५०० को हाराहारीमा रहेका भुटानी शरणार्थी र पञ्जीकृत हुन बाँकी भुटानीको हितलाई ध्यान दिनसमेत समितिले माग गरेको छ । 

    शरणार्थी परिचयपत्र नवीकरण गरेको आठ महिनाभन्दा बढी भइसक्दा पनि उनीहरूले नयाँ परिचयपत्र पाउन सकेका छैनन् । परिचयपत्र वितरणमा ढिलासुस्ती हुँदा सक्कली भुटानी परिचयविहीन हुने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।  

     

    प्रकाशित मिति :जेठ २ २०८० मंगलवार - १५:२२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij