२०८२ भाद्र २ गते सोमवार
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मेलम्चीको खानेपानी यही जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन बन्द हुने जानकारी दिएको छ। केयुकेएलले सोमबार पत्रकार सम्मेलन गरी १० दिनका लागि पानी बन्द हुने जानकारी दिएको हो।
केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले बाह्रै महिना पानी उपत्यकामा ल्याउन मेलम्ची खानेपानी विकास समितिले आयोजनाको थप संरचना मर्मत गर्न लागिएको जानकारी दिए। ‘अम्वाथानस्थित हेडवक्समा गेट न.१ र ९ तथा अडिट सुरुङमा मेकानिकल पार्टसको जडानलगायत संरचनाहरूको निर्माण तथा सुधार गर्न मेलम्चीको पानी जेठ ५ गतेदेखि १५ गतेसम्म बन्द गर्न लागिएको हो,’उनले भने।
मेलम्चीको पानी बन्द हुने भएपछि पानी वितरणको समय पनि हेरफेर भएको छ। केयुकेएलका प्रमुख कार्यकारी अधिकृत शाक्यका अनुसार मेलम्चीको पानी नियमित आउँदा २ देखि ३ दिन बिराएर ग्राहकहरूलाई पानी वितरण गरिएको थियो भने अब मेलम्चीको पानी बन्द भएपछि ३ देखि १० दिन बिराएर वितरण गरिने छ।
पानी भने १ घण्टासम्म मात्रै वितरण गर्ने उनले जानकारी दिए। केयुकेएलका अनुसार मेलम्चीको पानी नआउँदा यहीँको स्रोतबाट दैनिक १० देखि ११ करोड लिटर पानी उत्पादन हुन्छ। यही पानी वितरण हुनेछ। मेलम्चीको पानी पुन: आएपछि पहिलाकै समयमा पानी वितरण हुनेछ।
थप स्रोतबाट पानी संकलन गर्ने केयुकेएलको लक्ष्य छ। केयुकेएलका प्रमुख कार्यकारी अधिकृत शाक्यका अनुसार केयुकेएलका एक लाख ६० हजार ग्राहक छन्। नयाँ भने ६० हजार घरधुरीमा धारा जडान गरिएको उनले बताए।
मेलम्ची खानेपानी आयोजना सुरु भएको २ दशकपछि उपत्यकाभित्र पहिलोपटक विसं २०७७ चैत १५ गते पानी वितरण थालिएको थियो। विकास समितिका अनुसार पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण भइरहेको थियो। मर्मतकै लागि जेठ ५ गतेदेखि मेलम्चीकाे पानी बन्द हुँदै छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij