Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आज अक्षय तृतीया : जौको सातु र सर्वत खाएर मनाइँदै

आज अक्षय तृतीया : जौको सातु र सर्वत खाएर मनाइँदै


  • 2.2K
    Shares

    आज अक्षय तृतीया : जौको सातु र सर्वत खाएर मनाइँदै
    images

    बैशाख । आज अक्षय तृतीया, आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।

    आजको दिनलाई युगहरूको सुरुवाती दिनका रूपमा पनि लिइन्छ । आजको तिथिबाटै सत्य युग सुरुवात भएको थियो भने आजकै दिनबाट द्वापर युग समापन भई त्रेतायूग सुरु भएको मानिन्छ । 

    आजकै दिन देवाधिदेव महादेव र हिमालय पुत्री पार्वतीबीच विवाह भएकाले आजको दिन  विशेष रूपमा लिइने गरिन्छ । राजा भगीरथको तपस्याबाट गङ्गाजी यही अक्षय तृतीयाका दिन पृथ्वीमा झरेकी थिइन् भने यसै दिन रेणुकाका गर्भबाट परशुराम जन्मेका थिए। यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारतलगायतका हिन्दु धर्मावलम्बीहरूले जौको सातु खाएर वा दान दक्षिणा दिएर यो पर्व मनाउँछन् ।

    अक्षय तृतीयामा मुख्यतः सातु खाने चलन रही आएको छ । यस दिनमा जौ‌ गहुँलगायतबाट बनेका सातु खाने चलन छ । यसले शीतलतासमेत दिने भएकाले हिन्दु धर्ममा जौ‌लाइ पवित्र मानिन्छ । बढ्दो गर्मीलाई शीतलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अन्नहरू बेग्ला बेग्लै भुटेर, पिसेर तयार गरिएको पीठोको सातु खाने चलन छ ।

    आज माटो, तामा वा पित्तलको घडामा सर्बत राखेर ब्राह्मणलाई दान गरिन्छ । यस्तो घडामा ब्रह्मा, विष्णु र शिव तीनै स्वरूपका भगवान्को निवास हुने मान्यता छ । 

    जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवं सक्खर हाली सर्बत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्बत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुसी हुने धार्मिक विश्वास छ ।

    भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्बत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्त्व बढेको हो ।  

    हरेक वर्ष अक्षय तृतीयाका दिन सुनका गहना किन्ने चलन छ । यस दिन किनेको सुन सुख, समृद्धि र सौभाग्यको प्रतीक मानिन्छ । यस दिन किनेको वा लगानी गरेको सुन कहिल्यै समाप्त नहुने जनविश्वास छ । अक्षय तृतीयाको दिन भगवान् विष्णु र देवी लक्ष्मीले खरिद गरेको सुन र लगानीले स्वयम् रक्षा र वृद्धि गर्ने जनविश्वास रहेको छ ।

    यस पर्वमा सुन वा गरगहनाबाट बनेका नयाँ वस्तुको किनमेल गर्नुलाई निकै शुभ मानिन्छ । स्कन्द पुराणका अनुसार यस दिन गरेको शुभ कर्म र दानले पुण्य अक्षय पुण्य प्राप्त हुनेछ ।

     

    प्रकाशित मिति :बैशाख १० २०८० आइतवार - ०९:२४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij