२०८२ मंसिर १ गते सोमवार
काठमाडौँ । नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षकहरू बुधवार प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भए । बढुवा समितिले गरेको सिफारिस अनुसार एकहप्ता पुरा भएपछि गृहमन्त्रीले डीआईजी बढुवाको निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ । नायव महानिरीक्षकमा बढुवा सिफारिससँगै प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्ने बाटो खुलेको छ । डीआईजी बढुवा सिफारिस भएसँगै १६ जनालाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्न मिल्छ ।
निवर्तमान आईजीपी धिरजप्रताप सिंहसँगै उनका ब्याचमेट उमाशंकर पञ्जियार र जनकराज पाण्डे एसएसपीबाट अवकाशमा गएका थिए । त्यसअघि एसएसपी लोकेन्द्र श्रेष्ठको अवकाश भएकाले रिक्त पदसंख्या १६ पुगेको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए । एसएसपीमा बढुवा हुन २०७५ जेठ २९ मा प्रहरी उपरीक्षक (एसपी) भएका अधिकृतहरू प्रतिस्पर्धामा छन् ।
गृह मन्त्रालयले एसएसपी बढुवाको तयारी थालेको छ । एसएसपी बढुवा समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव हुन्छन् । प्रहरी महानिरीक्षक सदस्य र मानव श्रोत विकास विभागका प्रहरी अतिरिक्त महानिरीक्षक बढुवा समितिमा सदस्य–सचिव हुन्छन् ।
एसएसपी बढुवाको मेरिट लिस्टमा सबैभन्दा माथि विमल बस्नेत छन् । राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा आएका बस्नेत २०७४ मा प्रहरी उपरीक्षक भएका हुन् । बढुवाको प्रतिस्पर्धामा विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, विश्वमणि पोखरेल, शेखर खनाल, अविनारायण काफ्ले र सोमेन्द्रसिंह राठौर अगाडि छन् । उनीहरू २०७५ जेठ २९ मा एसपीमा बढुवा भएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij