२०८२ मंसिर १ गते सोमवार
काठमाडौं । तत्काल प्रधानन्यायाधीश र न्यायाधीहरूको नियुक्ति नगरे आन्दोलन गर्ने नेपाल बार एसोसिएसनले चेतावनी दिएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै एसोसिएसनले सर्वोच्चमा प्रधानन्यायाधीश र न्यायाधीश रिक्त रहेको, उच्च अदालतमा पनि रिक्तता देखिएको र जिल्लामा समेत ५० न्यायाधीश खाली रहेको भन्दै तत्काल पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
“हामीले प्रधानमन्त्रीको पनि यसबारे ध्यानाकर्षण गराइसकेका छौँ । अब न्यायालय न्यायाधीश नभएर न्यायनिरूपण नै गर्न नसक्ने अवस्थामा रहिरहन सक्दैन,” बार अध्यक्ष गोपालकृष्ण घिमिरेले भने, “हामीले सरकारलाई अल्टिमेटम दिएका छौँ । नियुक्ति भएन भने केही समयभित्रै बार आन्दोलनमा उत्रिन्छ ।”
उनले बार स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको मूलमर्मलाई आत्मसात् गर्दै निरन्तर क्रियाशील रहेको जिकिर गरे । विगतको आन्दोलन दोहोरिने अवस्था नबनाउन सरकारलाई आग्रह गरे ।
“नेपाल बार एसोसिएसनले न्यायपालिकाको विकृति, विसंगति अन्त्य गर्न विगतको १०९ दिने न्यायपालिका शुद्धीकरण र शुद्धीकरण अभियानलाई वर्तमान कार्यसमितिले स्वामित्व ग्रहण गरी सो कार्यलाई निरन्तरता दिँदै आएको छ,” अध्यक्ष घिमिरेले भने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij