२०८२ माघ १० गते शनिवार
भागरथी भट्टको बलात्कार र हत्या अभियोगमा पक्राउ परेका किशोर दिनेश भट्टले चार दशक पुरानो पारिवारिक रिसइवीको प्रतिशोध लिएको हुन सक्ने देखिएको छ ।
प्रहरी बयानमा दिनेशले आफ्नो आफन्तलाई भागरथीका बुबा कृष्णानन्द भट्टले बलात्कार गरेकाले त्यसकै बदला लिन भागरथीको हत्या गरेको स्वीकारेका छन् । दिनेशले भागरथीलाई बलात्कार गरेको भने स्वीकारेका छैनन् ।
किशोरको बदलावभाव पहिल्याउन भने चार दशकअघि फर्कनुपर्ने हुन्छ ।
भागरथीका बुबा कृष्णानन्दले अनैतिक सम्बन्ध राखेर दिनेशकी एक नातेदार गर्भवती बनेकी थिइन् । घटना २०४० सालतिरको भएको बैतडी दोगडाकेदार गाउँपालिका-७ का वडासदस्य महादेव भट्टले लख काटे । ‘घटनाचाहिँ भएको हो । ठ्याक्कै तिथिमिति याद छैन,’ उनले टेलिफोनमा भने, ‘हामी सानै थियौँ ।’
भागरथीका बुबा कृष्णानन्दबाट दिनेशकी आफन्तको पेटमा गर्भ रहेपछि कृष्णानन्द गाउँ छोडेर भारत गएका थिए । भारतको हिमाञ्चल प्रदेशमा ४ वर्ष काम गरेर फर्किएपछि कृष्णानन्दलाई प्रहरीले पक्राउ गरेको महादेव बताउँछन् । आफू त्यतिबेला १०-११ वर्षको भएको उनी सम्झन्छन् ।
कृष्णानन्द बैतडी कारागारमा छ महिना सजाय भोगेको आफूले सुनेको स्थानीय भूमिराज माविका प्रधानाध्यापक प्रजापति भट्ट बताउँछन् । ‘धेरैअगाडिको कुरा हो । अब त बिर्सिसक्यौँ,’ उनी भन्छन् । जबर्जस्ती करणी मुद्दामा पक्राउ परेर जेल बसेको भन्ने आफूले थाहा पाएको उनको भनाइ छ ।
अदालतले छ महिना कैद सजाय तोकेर भागरथीका बुबा जेलमुक्त भएका हुन् वा सफाइ पाएका हुन् भन्नेचाहिँ खुलेको छैन । घटनास्थलमै १० दिन बसेर अनुसन्धानको नेतृत्व गरेका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० उत्तमराज सुवेदीले भागरथीका बुबाको बलात्कार प्रकरणबारे धेरै कुरा नखुलेको बताए ।
कृष्णानन्दले अदालतबाट सफाइ पाएको भएमा सम्भवतः किशोर वयका दिनेशको मनमा आफ्नो परिवारले न्याय नपाएको गहिरोसँग छिपेको हुन सक्छ । गर्भ रहेपछि दिनेशकी आफन्त छोरोसहित अन्तै विवाह गरेर गएकी थिइन् । भागरथीका बुबा कृष्णानन्दको भने दुई महिनाअघि सुगर रोगका कारण मृत्यु भएको थियो । ‘दिनेशकी आफन्त छोरो लिएर यता आएको पछिसम्म हामीले पनि देखेका हौँ,’ महादेव भन्छन्, ‘आजकाल निकै भयो देखेका छैनौँ ।’
जुन घटनाको प्रतिशोध लिन दिनेशले भागरथीको हत्या गरे, त्यो घटना हुँदा आरोपित दिनेश र पीडित भागरथी दुवै जन्मिएका थिएनन् । दुवै जना १७ वर्ष उमेरका हुन् । दिनेशले प्रहरीमा पुरानो पारिवारिक घटनाका कारण हत्या गरेको बताए पनि स्थानीय र छरछिमेक भने दुवै परिवारमा दुस्मनी आफूहरूले नदेखेको बताउँछन् ।
‘दुवै परिवारमा आउजाउ, बोलचाल राम्रो थियो,’ दुवै परिवारका छिमेकीसमेत रहेका महादेव भन्छन्, ‘यस्तो होला भन्ने कल्पनै गरिएको थिएन ।’
हत्याका कारण बदलाव नै हो वा आवेशजन्य भन्नेमा चाहिँ प्रहरी अझै निचोडमा पुग्न सकेको छैन । प्रहरीका अनुसार आरोपित किशोरमा गाँजाको लतसमेत देखिन्छ । ‘हामीले हत्याको कारक तत्त्व खोतलिरहेका छौँ,’ डीआईजी सुवेदी भन्छन्, ‘अनुसन्धानमै भएकाले धेरै कुरा सार्वजनिक गर्न मिल्दैन । आवेश वा योजनावद्ध हत्या के हो भन्ने टुंगोमा पुगिसकेका छैनौँ ।’
अभियुक्तका तीन जना भाइबहिनी सुस्त मनस्थितिका
महादेवका अनुसार हत्या आरोपित दिनेश र पीडित भागरथी दुवै गरिब परिवारमा पर्छन् । दुवै परिवार खेतीकिसानीबाट मात्र खानलाउन नपुग्ने भएकाले ज्याला मजदुरी पनि गर्छन् ।
दिनेशका हजुरबुबा भारतीय सेनाबाट अवकाशप्राप्त हुन् । उनी कञ्चनपुरमा कान्छो छोरोसँग बस्थे, जसको मृत्यु भइसकेको छ । दिनेशका बुबाआमा ज्यालामजदुरी गर्छन्, गाउँमै । दिनेशका दुई बहिनी र एक भाइ छन्, जो सबै सुस्त मनस्थितिका छन् । ‘चार जना सन्तानमध्ये तीन जना सुस्त मनस्थितिका छन्,’ महादेव भन्छन्, ‘जो सद्दे हो, उसले यस्तो कुकर्म गर्यो भनिएको छ । सबै बर्बाद भयो । हामी शोकमा छौँ ।’
दिनेश गाउँकै श्री सनातन धर्म माविमा ११ कक्षामा अध्ययनरत हुन् । प्रहरी हिरासतमा रहेका उनी नाबालक नै भएकाले बालसुधारगृहमा राखेर प्रहरीले अनुसन्धान गर्नेछ । आरोप प्रमाणित भएमा पनि उनी सुधार गृहमै रहनेछन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij