२०८२ माघ १० गते शनिवार
कञ्चनपुरकी १४ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा धमिलिएको नेपाल प्रहरीको साख केही व्यावसायिक प्रहरी अधिकृतका कारण जोगिएको छ।
बैतडीकी भागरथी भट्ट हत्या प्रकरणको अनुसन्धान कञ्चनपुरकी किशोरी निर्मलाको जस्तो बन्ने खतरा थियो। हत्या भएको २ हप्ता बितिसक्दासमेत आरोपी पक्राउ नपरेपछि ‘निर्मला घटना’ दोहोरिनसक्ने अनुमान गरिएको थियो। सोहीकारण पछिल्लो समय प्रहरी दबाबमा थियो। १३ दिनसम्म दोषी पक्राउ नपर्दा प्रहरीको क्षमतामाथि प्रश्न उठिरहेको थियो।
तर सूदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तम सुवेदीले भागरथी प्रकरणको गुथ्थी सुल्झाएर उक्त प्रश्नको जवाफ दिएका छन्।
सुरुमा प्रदेशबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोलीलाई घटनास्थलमा पठाएका डिआइजी सुवेदी भोलिपल्ट आफैं फिल्डमा उत्रिएका थिए।
‘अपराधमा संलग्न उम्किन नसकुन् भनेर डिआइजी सुवेदी माघ २५ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा आफैं पुगेका हुन्,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी मुकेशकुमार सिंहले भने।
जिल्ला प्रहरी कार्यालय बैतडीको कमाण्ड प्रहरी नायब उपरीक्षक ९डिएसपी० ले सम्हालेका छन्। उक्त घटना डिएसपी आफैंले अनुसन्धान गर्न सक्थे। डिएसपीले पनि जिल्लाको रिपोर्टिङ आरामदायी ठाउँमा बसेर लिन सक्छन्।
तर, डिआइजी सुवेदीले डिएसपीको ठाउँमा रहेर काम गरे। सामान्य अवस्थामा डिएसपी वा प्रहरी उपरीक्षक ९एसपी०सम्मलाई यस्ता घटनाको अनुसन्धानमा पठाउने गरिएकामा भागरथी हत्या प्रकरणमा डिआइजी सुवेदी आफैं फिल्डमा उत्रिए।
अपराध अनुसन्धानमा अब्बल उच्च प्रहरी अधिकृतको छवि बनाएका डिआइजी सुवेदीको ‘मिसन’ भागरथीको हत्यामा संलग्न आरोपितलाई पक्राउ गरेर कानुनी कठघरामा उभ्याउने थियो।
नभन्दै उनी नेतृत्वको टोलीले १० दिनमै भागरथीको हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भयो। प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका एक डिआइजी यति लामो समय फिल्डमै बसेर अनुसन्धान गरेको सम्भवतः यो पहिलो घटना हो।
गाउँकै खोचलेक प्रहरी चौकीमा बसेका डिआइजी सुवेदीले प्रत्येक दिन अनुसन्धान अधिकारीसँग रिपोर्टिङ लिइरहन्थे। सोही अनुरुप हत्याको १३ दिनपछि प्रहरीले सफलता हासिल पारेको छ।
कञ्चनपुरको निर्मला पन्त हत्याकाण्ड र अनुसन्धानको पुनरावृत्ति नहोस् भनेर आफै फिल्डमा खटिएको डिआइजी सुवेदी बताउँछन्।
‘प्रमाणका सा–साना अंशलाई पनि सुक्ष्म तरिकाले अध्ययन गरेर भागरथीको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न हाम्रो टिम सफल भयो,’ सुवेदीले अयोमेलसँगको कुराकानीमा भने।
भागरथी प्रकरण कञ्चनपुरको निर्मला प्रकरण जस्तो नहोस् भन्दै स्थानीयले शव भेटिएकै दिनदेखि आन्दोलन र प्रदर्शन थालेका थिए। सनातन धर्म माविमा पढ्ने किशोरीमाथि भएको ‘अधर्म’ले गाउँ आक्रोशित थियो। स्थानीय जनता र विद्यार्थीले हत्यारालाई कारबाही गर भन्दै आन्दोलन चर्काइरहेका थिए।
डिआइजी सुवेदी खोचलेक गाउँ पुगेको केही समयपछि आन्दोलन मत्थर भयो। त्यसको कारण थियो–सुवेदीको कमाण्डिङ क्षमता। स्थानीयहरुलाई सम्झाउँदै सुवेदीले भागरथीका हत्यारा पत्ता नलागेसम्म आफू नफर्कने प्रतिबद्धता जनाएका थिए।
हत्या र बलात्कारजस्तो जघन्य अपराध चिनेजानेकै मान्छेबाट हुने सुवेदी बताउँछन्। त्यसैले पनि सुवेदी ढुक्क थिए। पीडित परिवारका सदस्य र स्थानीयको सहयोगका कारण भागरथीको हत्यारासम्म प्रहरी पुग्न सफल भएको डिआइजी सुवेदीको भनाइ छ।
‘म घटनास्थलमा आउँदा दोगडाकेदारमा आन्दोलन चर्किरहेको थियो। २ दिनपछि आन्दोलनरत पक्षसँग समन्वय गरेर प्रहरीलाई सघाउन अनुरोध गरेका थियौं। पछिल्लो समय स्थानीयले असाध्यै राम्रो सहयोग गरेका थिए,’ सुवेदीले भने।
डिआइजी सुवेदी भागरथीको गाउँमा बसेर स्थानीयसँग समन्वय गर्दै सहयोग पाउन थालेपछि अनुसन्धानले सफलताको बाटो समातेको बताउँछन्।
स्थानीयहरुलाई दिएको प्रतिबद्धता पूरा गरेर बुधबार बिहान सुवेदी खोचलेक बजारबाट बैतडी सदरमुकाम पुगेका छन्। भागरथीको हत्यारालाई कानुनी दायरामा ल्याइदिएको भन्दै सुवेदीलाई गाउँका स्थानीयले फुलमालासहित बिदाइ गरेका थिए।
को हुन् उत्तम सुवेदी ?
२०४९ चैत ११ बाट प्रहरी सेवामा प्रवेश गरेका सुवेदी सुरुदेखि नै उत्कृष्ट काम गर्ने प्रहरी अधिकृतको रुपमा चिनिएका थिए। कमाण्ड, कन्ट्रोल र अनुसन्धानमा अब्बल मानिएका उनले जहाँ गए त्यहाँ आफ्नो अलग छाप बनाए।
जनकपुर बमकाण्डमा नाइके तथा कुख्यात गुण्डा सञ्जय टक्लालाई जिल्ला प्रहरी कार्यालय धनुषाको कमाण्ड सम्हाल्दा पक्राउ गर्न सफल सुवेदी तराई क्षेत्रमा हुने आपराधिक संगठनका लागि ‘आतंक’ मानिन्थे। उनले दुई दशकअघिका फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान चलाउँदा जघन्य अपराधका अभियुक्तले समेत प्रहरीसमक्ष सरेन्डर गरे।
सर्लाहीमा बस्दा त्यस्तै क्रेज थियो सुवेदीको। सर्लाहीमा मात्र नभएर मधेसको दूरदराजमा समेत ‘सेलिब्रेटी’को रुपमा पहिचान बनाउन सफल सुवेदीले टक्लालाई पक्राउ गर्नासाथ मधेसी मुलका आपराधिक समूहको नै होसहवास उडेको थियो।
जिल्लाका दूरदराजबाट उनको नाम र काम गर्ने शैलीले गर्दा न्यायको आशमा प्रहरी कार्यालयमा गरीब, असहाय, महिला तथा सर्वसाधारणको भीड लाग्थ्यो। आफू मातहतलाई समेत कडा निर्देशन दिँदै गल्ती गरे माफ होइन कारबाहीको भागिदार बन्नुपर्छ भन्ने शैली सुवेदीको छ।
अपराध नियन्त्रण, अनुसन्धानमा अब्बल दरिएका सुवेदी आर्थिकदेखि लिएर कुनै पनि विवादमा नमुछिएका प्रहरी अधिकृत हुन्। समाजमा भएका विभिन्न आपराधिक घटनालाई सफल अनुसन्धान गर्दै टुंगोमा पुर्याएका सुवेदी विवादरहित रुपमा आफ्नो जिम्मेवारीलाई सजिलै निर्वाह गर्छन्।
नागरिकसँगको सम्बन्ध प्रगाढ बनाउन सक्नु प्रहरीको सबैभन्दा ठूलो सम्पत्ति हुने र प्रहरी सधैं सफल हुने डिआइजी सुवेदीको बुझाइ छ।
बौद्धिक प्रहरी अधिकृत भनेर चिनिने सुवेदी प्रहरी संगठनमा दुरगामी र सकारात्मक प्रभाव पार्ने नयाँ–नयाँ अभियानको सिर्जना गर्ने क्षमता राख्छन्।
यसअघि काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका सुवेदी विवादरहित आफ्नो कार्यकाल सकेर त्यहीँबाट डिआइजीमा बढुवा भएका हुन्। । डिआइजी बढुवा हुँदा उनीमाथि अन्याय भएको भनेर प्रहरी संगठनभित्र चर्को अलोचना भएको थियो। उनलाई भावी महानिरीक्षक (आइजी) कै रूपमा समेत हेरिन्थ्यो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij