२०८२ माघ १० गते शनिवार
बैतडी । बैतडीको दोगदाकेदार गाउँपालिका ७ की भागरथी भट्टको हत्यामा संलग्न भनि पक्राउ परेका दिनेश भट्टले साविति बयानमा हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ । यसअघि प्रहरी र परिवारका सदस्यलाई आफू पुरै कक्षा पढेर आएको बताए पनि विद्यालयको रेकर्ड र खोचलेकमा भेटिएका साथीहरुका आधारमा उनी टिफिन समयमा नै घर गएको देखिएपछि प्रहरीको अनुसन्धान उनीतिर केन्द्रित पारिएको थियो । दिनेश भागरथीका नजिकका भाइ नाता पर्छन् ।
दिनेश टिफिनको समयमा विद्यालयमा भलिबल खेलेर घर आए । उनीसँगै टिफिनमा घर आएका भानदेव भट्ट र लिलाघर भट्टले उनलाई खोचलेक बजारमा देखे । खोचलेक बजार उनीहरुले पढने सनातन धर्म माविबाट झण्डै ५/७ मिनेटको पैदल दुरीमा पर्छ ।
खोचलेक बजारमा तीनैजना र भागरथीको भेट भयो । भागरथीले उनीहरुसँग घर कतिबेला जाने भनेर सोधिन । भानदेब र लिलाधरले कपाल काटेर मात्रै घर जाने भनेपछि भागरथी त्यहाँबाट घर हिँडेको प्रहरीले बताएको छ ।
भानदेब र लिलाधर कपाल काटन सैलुन छिरे । तर दिनेश त्यहाँबाट भागरथीको भन्दा चाररपाँच मिनेट पछाडि घरतिर हिँडे । उनले यसअघि आफूले बाटोमा कसैलाई पनि नदेखेको, विद्यालयबाट पनि पुरै कक्षा पढेर आएको जस्ता झुटो कुराले उनीमाथि गहिरो अनुसन्धान थालेको थियो।
"दिनेशले विद्यालयबाट हिँडेको समय १:४५ बजे हो । भागरथी र तीनैजनाको १:५० मा खोचलेकमा भेटभयो । त्यसपछि घटनास्थल पुग्ने समय भनेको झण्डै ४० मिनेट अथवा २:३० हो । तर दिनेश ३:२५ सम्म घटनास्थल नजिकै छन् । उनले, घरमा पुरै पिरियड पढेर आएको भनेपनि पत्याउन नसकिने देखिन्छ," प्रहरी स्रोत भन्छ, "तर उनले टिफिनमा कक्षा छोडेपछि र घर ढिलो पुगेको पत्ता लागेपछि अनुसन्धान बढी केन्द्रित पारिएको थियो।"
प्रहरीले दिनेशलाई ३:२५ मा घटनास्थल नजिकैको लवलेकको नवनिर्मित मैदान नजिक देखेको प्रत्यक्षदर्शीले बताएका छन्। प्रत्यक्षदर्शीका आधारमा अनुसन्धान अझ सहज भएको प्रहरीले जनाएको छ।
दिनेश शव भेटिएको दिन घटनास्थलमा थिए । उनी केही बेर मात्र घटनास्थलमा बसेर छिट्टै घर फर्किए । त्यसदिन घटनास्थलमा पुगेका प्रहरीहरुले घटनास्थल सिल पारिसकेको थियो । त्यहाँ प्रहरीको तालिम प्राप्त कुकुर आउने भएकाले घटनास्थलमा कसैलाई नजान भनिएको थियो ।
भागरथीको शव उठाएको दिन अथवा घटनास्थलमा धनगढीबाट तालिम प्राप्त कुकुर पुगेको दिन दिनेश त्यहाँ गएनन् । ‘उनको ट्राभल हिस्ट्री हेर्दा उनी तालिम प्राप्त कुकुर आएको दिन गोठालो गएका रहेछन्, एक प्रहरी अधिकृतले भने ।
भागरथीकी आमाले भागरथी आइन र ? भनि सोध्दा दिनेशले नदेखेको बताएका थिए । "भागरथीको खोजी गर्दा, फोन गर्दा उनी डराएर छटपटिए झैं हुन्थे," ती प्रहरी अधिकृतले भने । तर मंगलबारको बेलुकी उनले साविति बयानमा आफूले भागरथीको हत्या गरेको स्वीकार गरेका छन् ।
यस्तो छ बयान
म मध्यान्तरमा स्कुलमा (सनातन धर्म मावि) भलिबल खेलेर घर आए । त्यसपछि खोचलेकमा मेरो भागरथीसहितका अरु तीनजना आफ्नै गाउँका युवाहरुसँग भेट भयो । उनीहरु कपाल काट्न थाले । म त्यहाँबाट घरतिर हिँडे । मैले सिल्ल भन्ने स्थानमा भागरथीलाई भेटे र म फटाफट ती भन्दा अगाडि घरतिर लागे ।
घटनास्थल भएको स्थानमा म भागरथी भन्दा अगाडी नै पुगिसकेको थिए । केही बेरमा भागरथी आइन। उनले पुग्ने वित्तिकै मैले सडकबाट धक्का दिएर सानो खोल्सोमा (जहाँ शव भेटिएको थियो) लडाए । उ लडी र घाइते भइ । अनी मैले घाँटी थिचेर मारिदिए । त्यसपछि म घर हिँडे ।
दिनेशले भागरथीको हत्या गरेको साविति बयान दिएपनि उनले बलात्कारका बारेमा भने मौनता देखाएको प्रहरीले जनाएको छ । उनको पुरै बयान सिआइबीका डिएसपी पञ्चकुमार बाकुले लिएका थिए । पञ्चकुमार अब्बल अपराध विज्ञ मानिन्छन् । जिल्ला अस्पताल बैतडीले भागरथीको यौनांगमा यौनजन्य गतिविधि भएको र घाँटी निमोठेर हत्या भएको पोष्टमार्टम रिपोर्ट प्रहरीलाई बुझाएको छ । घटनाको प्रकृती हेर्दा पनि भागरथीको तल्लो अंगको वस्त्रहरु फुकालिएका छन् भने उनको यौनांगबाट धेरै रगत बगिरहेको भेटिएको प्रहरीले जनाएको छ।
२ बजे सार्वजनिक हुँदै
घटनाको अनुसन्धानका लागि माघको २५ गते देखि घटनास्थलमा रहेका सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआईजी उत्तम सुबेदी, संघीय प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डे, सिआईबीका डिएसपी पञ्चकुमार बाकु सहितको टोलीले अभियुक्तलाई बुधबार दिउँसो २ बजे सार्वजनिक गर्दैछन्। जिल्ला प्रहरी कार्यालय बैतडीमा अभियुक्त सार्वजनिक हुने प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij