Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

सुनकोशीले जोगाउँदैछ ५५ हजारको जीवन

सुनकोशीले जोगाउँदैछ ५५ हजारको जीवन


  • 6.6K
    Shares

    सुनकोशीले जोगाउँदैछ ५५ हजारको जीवन

    काभ्रे ।  काभ्रेपलाञ्चोकको दक्षिणी–पूर्वी भेगअन्तर्गत तेमाल क्षेत्रका बासिन्दामा खानेपानीबाट सुखका दिन आउन अब केही महिना मात्रै बाँकी छ । वर्षौंदेखि रातदिन समस्या झेल्दै आएका तेमाल गाउँपालिका र छिमेकी दुई स्थानीय तहका बासिन्दाले सम्भवतः नयाँ वर्षका अवसरमा घरघरमै खानेपानी पाउनेछन् ।

    तामाङ समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा पाँच वर्षअघि अर्थात् भूकम्पलगत्तै तेमालमा सुनकोशी नदीबाट पानी लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने भएपछि विस्थापनबाट जोगिएका स्थानीय बासिन्दा यतिबेला औधी खुशी पनि देखिएका छन् । “आउँदो नयाँ वर्षमा खानेपानी अयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिएका छौँ, यसपछि तेमालको एउटा ठूलो सपना साकार हुनेछ”, तेमाल बृहत् सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समिति अध्यक्ष सङ्ग्रामजीत लामाले भन्नुभयो । उहाँका अनुसार गत मङ्सिरमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम कोरोना सङ्क्रमणका कारण छ महिना रोकिँदा अब छ महिना सरेको हो । 

    विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम गत मङ्सिरमा सक्ने लक्ष्य राखिएको थियो । लामाले भन्नुभयो, “लकडाउनपछि छ महिना काम रोकियो, अहिले द्रुत गतिमा काम भइरहेको छ, सकेसम्म थपिएको समयमा सक्ने योजनामा छौँ ।” तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करीब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन भइरहेको हो । तेमाल बृहत् खानेपानी आयोजना स्थानीयवासीको सुखद जीवनसँग जोडिएको आधाबाटका इन्द्रबहादुर तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “सुनकोशीको पानी भनेको तेमालवासीको जिन्दगानी नै हो ।” उहाँका अनुसार भूकम्पलगत्तै भएका खानेपानीका मूल सुक्दै गएपछि तेमालका केही बासिन्दा विस्थापित हुने तर्खरमा थिए, तर बृहत् खानेपानी आयोजनाले रोकेको हो । 

    नेपाल सरकार, खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड लागतमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा करीब ९५ प्रतिशत काम सकिएको समितिका अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ । आयोजनामा नेपाल सरकारको ९०, गाउँपालिकाको एक र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदान गर्नुपर्ने सम्झौता भएको थियो । आयोजनाको नदीमा फिल्टर गर्ने चारवटा ट्याङ्की र तेमालको वाङबेल डाँडामा चार लाख लिटर क्षमताका दुईवटा रिजर्भ ट्याङ्की निर्माण गरिएको छ । ४० हजारदेखि अवस्था अनुकूल दुई लाख लिटर क्षमतासम्मका २३ वटामध्ये १६ वितरण ट्याङ्की भइसकेका छन् ।

    “पाइपलाइनको काम सकिएको छ भने घरघरमा धारा जोड्न बाँकी रहेको छ”, लामाले भन्नुभयो । सुनकोशी नदीबाट प्रतिसेकेन्ड २० लिटर पानी मुख्य रिजर्भ ट्याङ्कीमा लिफ्ट हुनेछ भने यसअन्तर्गत प्रतिव्यक्ति प्रतिदिन ६५ लिटर पानी वितरण गर्न सकिनेछ । आयोजनाको लिफ्टिङ लागि खण्डखण्डमा १३ वटा पम्पले पानी तान्नेछन् । लामाका अनुसार आयोजनाको खानेपानी विस्तारका लागि २३ वटा ट्याङ्की, ११ वटा गार्ड घर, एक खानेपानी कार्यालय तथा खानेपानीको लाइन विस्तार गर्ने अधिकांश काम सकिएको छ । आयोजनामा नेपाल सरकारको प्राविधिक खटिरहेका हुन् । उक्त खानेपानी आयोजनाबाट तेमालको नौवटा वडा, छिमेकी रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको केही वडाका बासिन्दा लाभान्वित हुने भएका हुन् । 

    हाल पनि तेमाल क्षेत्रका बासिन्दा दुई घण्टा पैदल दूरीबाट कुवाको पानी लिन बिहान ३ बजेदेखि पालो कुर्नुपर्ने बाध्यता रहँदै आएको नारायणस्थानका हेमलाल तामाङले बताउनुभयो । उहाँका अनुसार ठूला बस्तीको बीचमा रहेका केही कुवामा दिनहुँ दुईदेखि ३०० वटासम्म गाग्रीका लाइन लाग्ने गरेको थियो । “अब खानेपानीका लागि सुखका दिन आए”, तामाङले भन्नुभयो ।

    पूर्वमन्त्री एवं प्रतिनिधिसभाका पूर्वसदस्य गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोकमा हाल काभ्रे भ्याली एकीकृत, तेमाल र पाँचखालमा ठूला तीन खानेपानीका आयोजना सञ्चालित रहेकामा खुशी व्यक्त गर्दै केही समयभित्रै नमोबुद्ध नगरमा पनि बृहत् खानेपानी आयोजनाको काम शुरु हुने बताउनुभयो । “अबको दुई वर्षभित्र सबै काभ्रेलीले स्वच्छ खानेपानी पाउने उद्देश्यका साथ हामी योजना बनाइरहेका छौँ÷ल्याइरहेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमणका कारण काभ्रेपलाञ्चोकमा सञ्चालित खानेपानीलगायत राष्ट्रिय गौरवका दर्जन आयोजना केही महिना धकेलिए पनि हाल तीव्र गतिमा भइरहेका छन् । रासस

    प्रकाशित मिति :फाल्गुण ५ २०७७ बुधवार - १२:१४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij