Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शिक्षाको गुणस्तरीयताबारे अन्तरक्रिया सम्पन्न

शिक्षाको गुणस्तरीयताबारे अन्तरक्रिया सम्पन्न


  • 4.8K
    Shares

    शिक्षाको गुणस्तरीयताबारे अन्तरक्रिया सम्पन्न

        
    शिक्षाको गुणस्तर कसरी अभिवृद्धि गर्ने भन्ने मुद्दालाई मध्यनजर राख्दै अभिभावक तथा शिक्षा क्षेत्रका विद्वत् वर्गलाई सहभागी गराई मित्रनगर,सामाखुसीमा अवस्थित पुष्प कुञ्ज हाई स्कुलले हिजो शनिवार एउटा बृहत् अन्तरक्रिया कार्यक्रम सुसम्पन्न गरेको छ ।

    'हाम्रो सन्दर्भमा गुणस्तरीय शिक्षा' शीर्षकीय उक्त अन्तरक्रियाका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका अङ्ग्रेजी भाषा विभागका पूर्व प्रमुख तथा विद्यालयका सल्लाहकार प्रा•डा• दानराज रेग्मीले संस्कृति, परम्परा, उत्पादन प्रणाली,रैथाने दर्शन तथा जीवन पद्धतिलाई कसरी आधुनिक वैज्ञानिक साधनसँग एकाकार गर्न सकिन्छ भनेर खोजी गर्ने जनशक्तिको उत्पादन नै हाम्रो सन्दर्भमा गुणस्तरीय शिक्षा भएको बताए । आफ्नै नानीहरूको दृष्टान्त दिँदै उनले उच्च प्राप्ताङ्क मात्र गुणस्तरीयताको द्योतक नहुने ठोकुवा गरे । 'किन हाम्रा विद्यार्थी लोक सेवा आयोग,शिक्षा आयोग जस्ता परीक्षामा विफल भइरहेका छन् ? यसको उत्तर समयमै खोजिनुपर्छ ।'  उनले सुझाव राखे । शिक्षित छ तर पत्रु खाना रूचाउँछ, हस्तलेखनमा ध्यान दिँदैन, न नेपाली न अङ्ग्रेजी शुद्ध लेख्न र बोल्न सक्छ । यस्तो जनशक्ति उत्पादन हुँदै गर्दा विद्यालयले आफू चुकेको बिन्दु पत्ता लगाउनुपर्नेमा उनले जोड दिए ।

    गणेश ढकाललगायतका अभिभावकहरूले राखेका जिज्ञासाहरूको शमन प्रधानाध्यापक एकबहादुर आलेले गरे । जिज्ञासाको जवाफको सिलसिलामा आफ्नो संस्थाले शिक्षकहरूलाई वर्षौं टिकाएको दाबी गर्दै यदाकदा एक दुई विषयमा भएका परिवर्तनलाई सहजतापूर्वक लिइदिन अभिभावकलाई आग्रह गरे । यदि गृहकार्य आद्योपान्त परीक्षण नभएको पाइए त्यसलाई कडाइपूर्वक अनुगमन गर्ने आश्वासन पनि उनले दिए । मूलतः सीमित बालबच्चा राखेर संस्कारयुक्त शिक्षा दिने आफ्नो ध्येय रहेको उनले सगर्व खुलासा गरे ।

    अन्तरक्रिया कार्यक्रमलाई समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा• श्यामकृष्ण बिस्टले आधारभूत मानवीय गुण, ज्ञान, सीप र आचरण आर्जन गर्ने शिक्षामा विद्यालयले सम्पूर्ण ऊर्जा लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्दै यो मामलामा कहीँकतै त्रुटि वा कमी देखिएमा सुधार्दै जाने वाचा गरे । देश, समय, परिस्थिति र उत्पादन प्रणालीसँग मेल खाने शिक्षा प्रदान गर्ने नै आफूहरूको मूल मन्त्र रहेको उनले जिकिर गरे ।

    कार्यक्रममा अभिभावकहरूको सघन उपस्थिति थियो भने सल्लाहकारहरू उप-प्राध्यापक शैलेन्द्र चिलुवाल र कृष्णप्रसाद खनालको पनि समुपस्थिति थियो । 

    प्रकाशित मिति :चैत्र १४ २०७९ मंगलवार - १०:५३:१७ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij