२०८२ माघ १४ गते बुधवार
संसदीय समितिले सिंहदरबारस्थित रहेको पुरानो संसद् भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकले सिंहदरबारस्थित रहेको पुरानो संसद् भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको हो।
विसं. २०१६ सालमा निर्माण भएको सो संसद् भवन भूकम्पका कारण क्षतिग्रस्त अवस्थामा रहेको थियो। समितिले सो भवनलाई पुनःनिर्माण नगरी पुरानै अवस्थामा राखिराख्न रेट्रोफिट गरेर मर्मत गर्नका लागि सहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति मायाप्रसाद शर्माले बताए।
त्यस्तै समितिले सिंहदरबारस्थित निर्माणधीन नयाँ संसद् भवन परिसरमा बन्दै गरेको पुस्तकालय भवन निर्माणका क्रममा रहेकाले भवन निर्माणमा नमिलेका कतिपय कुराहरुलाई परिमार्जन गर्न पनि निर्देशन दिइएको बताए।
बैठकमा उपस्थित राष्ट्रिय सभा सदस्यहरुले पुस्तकालयलगायत संघीय संसद्का भवनहरु समयमै र गुणस्तरीय रुपमा सम्पन्न हुनुपर्नेमा जोड दिएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij