२०८२ भाद्र ७ गते शनिवार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नेकपा विवाद हल नगरी निर्वाचनको प्रक्रियामा अघि बढ्न नमिल्ने जिकिर गरेको छ ।
आचारसंहिताबारे छलफल गर्न भन्दै निर्वाचन आयोगले आइतवार बोलाएको बैठकमा प्रचण्ड–नेपाल पक्षका तर्फबाट सहभागी स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेकपाको विवाद समाधान नगरी निर्वाचनको प्रक्रिया अगाडि बढाउन नमिल्ने जिकिर गरेका हुन् ।
"६४ प्रतिशत मत रहेको दलको विवाद हल नगरी निर्वाचन आयोग अगाडि बढ्न सक्दैन," बैठकमा दलहरूका तर्फबाट शुरूमै आफूले राखेको धारणाबारे पत्रकारलाई जानकारी दिँदै पोखरेलले भने ।
आफूहरूले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसारको दाबी सहितको पत्र निर्वाचन आयोगमा बुझाए पनि अहिलेसम्म आधिकारिकतासम्बन्धी कुनै निर्णय नआएको उनले बताए ।
आधिकारिकता दाबीका लागि ३० दिनको म्याद गुज्रिसकेको भनेर गरिएको दाबीका सम्बन्धमा पोखरेलले नेकपाको वास्तविक विवाद माघ १२ गते निर्वाचन आयोगले पत्र दिएपछिबाटै शुरू भएको जिकिर गरे ।
त्यसअघि बसेका केन्द्रीय समिति बैठक अध्यक्ष र महासचिवले बोलाएकै बैठकको निरन्तरता भएको बताउँदै पोखरेलले ४ सय ४१ केन्द्रीय सदस्यलाई मान्यता दिन्छौं भन्ने आयोगको निर्णय आएपछि एकताताकाको त्यही केन्द्रीय समितिको बहुमतका आधारमा आफूहरूले आधिकारिकता दाबी गरेको बताए ।
पार्टीको तर्फबाट शुरूमै धारणा राखेर पोखरेल बाहिरिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij