२०८२ मंसिर ४ गते बिहिवार
संसदमा राष्ट्रपति निर्वाचनको चटारो परेको बेला जिल्ला जिल्लामा भने स्ववियु निर्वाचनको चटारो बढेको छ। आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि पाल्पामा विद्यार्थीहरूको चहलपहल बढेको छ। पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि ८ विद्यार्थी संघ संगठनले संस्था दर्ता गराएका छन्।
त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठन, राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैटौं, नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेकपा माओवादी बहुमत पाटी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी विद्यार्थी संघ संगठनदेखि स्वतन्त्र समूहका रूपमा असंलग्न विद्यार्थी युनियनले निर्वाचनका लागि संस्था दर्ता गरेका छन।
सबै संघ–संगठनका संयोजकहरूले क्याम्पसको निर्वाचन कार्यालयमा पुगी रितपूर्वक संस्था दर्ता गराएको सहायक निर्वाचन अधिकृत पुष्कर आचार्यले जानकारी दिए।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले आउँदो चैत ५ गते स्ववियु निर्वाचनका लागि फागुन १९ गते संघ, संगठन, समूह दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशित, फागुन २५ गते मतदाता सूचीउपर दाबी विरोध, छानबिन तथा अन्तिम नामावली प्रकाशन, फागुन २६ गते प्रत्यक्ष तर समानुपातिकतर्फ उम्मेदवारहरूको मनोनयनपत्र वितरण कार्यक्रम रहेको निर्वाचन अधिकृत जीवनबहादुर थापाले बताए।
यसैगरी फागुन २७ गते उम्मेदवारहरूको मनोनयन पत्र दर्ता, फागुन २८ गते उम्मेदवार विरुद्धको दाबी विरोध गर्ने र छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने, फागुन २९ गते इच्छुक उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम उम्मेदवारको नामावली प्रकाशित गर्ने र चैत ५ गते मतदानको कार्यतालिका रहेको क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईले जानकारी दिए।
त्रिभुवन बहुमुखी क्याम्पसमा १९ वर्षपछि स्ववियु निर्वाचन हुन लागेको हो। यसअघि २०६५ सालमा भएको निर्वाचनमा नेविसंघका हरिबोल भट्टराई स्ववियु सभापतीमा निर्वाचित भएका थिए।
त्रिभुवन बहुमुखी क्याम्पस तानसेनबाहेक शहिद बहुमुखी क्याम्पस रामपुर, उद्धबुद्ध कलेज पूर्वखोला र माण्डव्य बहुमुखी क्याम्पस दमकडा तानसेनमा स्ववियु निर्वाचन हुँदै छ। एक्ला एक्लै वा गठवन्धन गरेर स्ववियु निर्वाचन जित हासिल गर्न विधार्थी संघ–संगठनका नेतादेखि ठूला पार्टी नेताहरू आन्तरिक तयारदेखि मत जोड घटाउमा सक्रिय भएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij