२०८२ मंसिर ५ गते शुक्रवार
गोरखाको भीमसेन थापा गाउँपालिका र चुमनुव्री गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । प्राकृतिक सौन्दर्यले भरपूर्ण तथा पर्यटकीय गन्तव्यको राम्रो सम्भावना बोकेको चुमनुव्री गाउँपालिका र नेपालका प्रथम मुख्तियार भीमसेन थापाको जन्मस्थान भीमसेन थापा गाउँपालिकाबीच समन्वय एवं सहकार्य गरी असल अभ्यास र अनुभव आदानप्रदान गर्ने उद्देश्यले दुई पालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर भएको भीमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।
समझदारी पत्रमा बूढीगण्डकी नदीको शिर, अहिंसाको क्षेत्र चुम भ्याली, मनास्लु किलर माउन्टेनको काखमा रहेको पर्यटकीय स्थल चुमनुव्री तथा भीमसेन थापा गाउँपालिकाको सामाजिक तथा संस्कृति गतिविधि आदानप्रदान गर्ने उल्लेख गरिएको छ । त्यस्तै मैत्रीपूर्ण तथा दिगो संस्थागत सम्बन्ध स्थापना गर्ने, कृषि, पर्यटन, विपद् व्यवस्थापन, कलाको क्षेत्रमा आपसी समन्वय, सहकार्य र साझेदारी गर्ने समझदारी दुई पालिकाबीच भएको उनले जानकारी दिए ।
दुवै पालिकाले एक अर्काको ऐतिहासिक, पर्यटकीय एवं सांस्कृतिक सम्पदा प्रचारप्रसार गर्ने, स्थानीय न्यायिक समिति, मेलमिलाप केन्द्र विषयगत समिति, कार्यपालिका, वडा, गाउँ सभालाई प्रभावकारी बनाउन संयुक्त रूपमा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ । त्यस्तै गरिबी निवारणका लागि लघु उद्यम, जडीबुटी खेती, वन पैदावर, ऊर्जालगायत आर्थिक विकासका क्षेत्रमा सहकार्य गर्ने, दुवै पालिकाको साझा हितका विषयमा संयुक्त पहल गर्ने अध्यक्ष बञ्जराले जानकारी दिए ।
समझदारी पत्रमा भीमसेन थापा गाउँपालिका तर्फबाट अध्यक्ष बञ्जरा, प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारी, चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामा र प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij