२०८२ मंसिर ५ गते शुक्रवार
आगामी फागुन ११ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गर्दै फागुन ११ गतेदेखि विभिन्न जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने बताएको हो ।
महाशाखाले चालु आर्थिक वर्षको योजनाअनुसार यो पटक १६ जिल्लामा औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्न लागेको हो । महाशाखाका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली गरी १५ वटा जिल्लामा उक्त औषधि वितरण गर्ने योजना बनाएको छ । उक्त जिल्लामा गरि कूल ८४ लाख ९८ हजार ५ सय १ जनालाई औषधि खुवाइने महाशाखाको लक्ष्य छ ।
नेपालका ६४ जिल्लामा सञ्चालन गरिएको यो अभियान हाल ४८ जिल्लामा बन्द गरिसकिएको महाशाखाले बताएको छ । बाँकी १६ जिल्लामा भने सबैले औषधि नखाइदिनाले र हरेक दुई दुई वर्षमा रगत जाँच गरी हेर्दा समेत यी जिल्लाका बासिन्दामा रोगको दर अपेक्षाकृत रूपमा नघटेकाले उनीहरुले पटक पटक औषधि खानु परेको महाशाखाको भनाई छ ।
रसुवा जिल्लामा गत साल गरिएको रक्तनमुना सर्वेक्षणमा हात्तीपाइले जनस्वास्थ्यको समस्याको रूपमा देखिएको थियो । त्यसैले महाशाखाले यस वर्ष रसुवासहित १५ वटा जिल्लामा आम औषधि सेवन सञ्चालन गर्न लागेको हो ।
उक्त अभियान सञ्चालन गर्नको लागि स्थानीय तहबाट २० करोड २० लाख, प्रदेश तथा जिल्लबाट एक करोड ६० लाख र संघबाट १२ लाख गरी जम्मा ८५ करोड रुपैयाँ बजेट परिचालन हुने पनि महाशाखाले जानकारी दिएको छ । त्यस्तै, औषधि सेवन कार्यक्रममा स्वास्थ्यकर्मी ९ हजार ५ सय र १३ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुनेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij