काठमाडौं । तातोपानी नाकाबाट पूर्ववत् अवस्थामा आयत–निर्यात सुचारु गर्न नेपाल र चीन सरकारका अधिकारहरू बिच बैठक सम्पन्न भएको छ । तातोपानी नाकालाई पूर्ववत् अवस्थामा सञ्चालनका लागि पहलकदमी गर्न दुई देशका अधिकारीहरू तातोपानी नाका स्थित फागुन ४ गते मितेरी पुलमा प्रत्यक्ष बैठक सम्पन्न भएको हो ।
नेपाल र चीनबीचको सीमा क्षेत्रमा आपराधिक गतिविधि हुन नदिन नेपाल र चीनका अधिकारीहरुबीच सहमत भएका छन् ।
कोभिड–१९ महामारी पछि पहिलो पटक भएको प्रत्यक्ष वार्तामा दुई देशका अधिकारीहरु सीमा सुरक्षा, आपसी हित र व्यापार प्रबर्द्धनका विषयमा छलफल भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।
‘दुई देशको सीमामा आपराधिक क्रियाकलाप हुन नदिने, एक अर्काको हितका लागि हुने कार्यहरु आपसी समझादारीमा गर्ने विषयमा छलफल केन्द्रित थियो,’ प्रजिअ न्यौपानेले भने, ‘लामो ग्यापपछि बैठक भएकाले अहिले समझदारी मात्रै भएको छ । विस्तारै अन्य विषयहरुमा पनि छलफल अघि बढ्छ ।’
नेपालको चाहनाअनुसार व्यापार अभिवृद्धि गर्न, पर्यटन गतिविधि सञ्चालन गर्न चिनियाँ पक्ष सकारात्मक रहेको पनि प्रजिअ न्यौपानेले बताए ।
बैठकमा नेपालकोतर्फबाट प्रजिअ न्यौपाने नेतृत्वमा सुरक्षा र अध्यगमनसहितका ६ जना र चिनियाँ पक्षबाट समकक्षी ज्याङ्जुङको नेतृत्वमा ६ सदस्य टोली बैठकमा सहभागी थियो ।