२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौं । मंसिरदेखि नै रिक्त रहेको नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत नाट्य प्रतिष्ठान र नेपाल ललितकला प्रतिष्ठानले नयाँ नियुक्तिसँगै पूर्णता पाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भूपाल राईलाई नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा, निशा शर्मालाई नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा र नारदमणि हार्तम्छालीलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त गरेका छन् ।
रंगकर्मी निशा शर्मा प्रज्ञा प्रतिष्ठानकै इतिहासमा पहिलोपटक महिला कुलपतिका रूपमा नियुक्त भएकी हुन् ।प्रधानमन्त्री प्रचण्डले तीनै प्रज्ञा प्रतिष्ठानका कुलपतिहरूलाई शपथ ग्रहण गराएका छन्। मन्त्रालयले रिक्त रहेको प्रतिष्ठानमा प्राज्ञ परिषद् तथा प्राज्ञ सभा सदस्यहरूसमेत नियुक्त गरेको छ ।
मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा विमल निभा (विमलकृष्ण श्रेष्ठ) र सदस्य सचिवमा डा. धनप्रसाद सुवेदीलाई नियुक्त गरेको छ । त्यस्तै, नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा संगीतकार शम्भु राई र सदस्य सचिवमा कुस्मा महरालाई नियुक्त गरिएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा लालकाजी लामा र सदस्य सचिवमा देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ नियुक्त भएका छन् । प्रज्ञा प्रतिष्ठानका अन्य परिषद् सदस्यहरूको नामावली सूचीमा रहेको छ । 

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij