किन काटियो ब्यालेन्स ?
पोष्टपेडका ग्राहकहरुबाट नेपाल टेलिकमले रेन्टल शुल्क बाफत् न्यूनतम ३८३ रुपैयाँ हरेक महिना काट्छ । काटिएको न्युनतम रकम र ग्राहकको मोबाइलमा भएको ब्यालेन्ससँग हिसाब मिलान गरिसकेपछि त्यो ३८३ रुपैयाँ पुनः फर्किन्छ । यो काम हरेक अंग्रेजी महिनाको १५ तारिखमा गरिन्छ । यो कामलाई टेलिकमको भाषामा ‘बिल रन’ भनिन्छ ।
अहिले भएको पनि त्यही हो । फरक यति मात्र हो कि अघिल्ला महिनाहरुमा यो काम राति ग्राहक सुतिरहेको समयमा सकिइसक्थ्यो । तर यसपटक बिहानसम्म पनि काम नसकिएकाले ग्राहकहरुको गुनासो सार्वजनिक भयो ।
नेपाल टेलिकमका प्रवक्ता अधिकारीले भने, ‘बिल रनको काम आज बिहानसम्म पनि नसकिएकाले ब्यालेन्स काटिएको गुनासो आयो । हिसाब मिलानको काम जारी छ, केहीबेरमै सल्भ हुन्छ ।’ उनले ग्राहकहरुको ब्यालेन्सबाट काटिएको ३८३ रुपैयाँ पुनः फर्किने पनि बताए । प्रवक्ता अधिकारीले बिलिङ सिस्टममा समस्या नभएको तर हिसाब गर्न समय लागेको दाबी गरे । (अनलाइनखबर)
