२०८२ मंसिर ६ गते शनिवार
गण्डकी प्रदेश सरकारले प्रदेश सभा सचिवालयको सचिवको उमेर हद बढाउन ल्याएको ऐन संशोधन प्रस्ताव पारित भएको छ । प्रदेश सभाको बुधबार बसेको बैठकबाट ‘केही गण्डकी प्रदेश कानुन संशोधन गर्न बनेको विधेयक’ पारित भएसँगै सचिवको उमेर दह बढेको हो ।
यसअघि प्रदेश सभा सचिवालय सचिवको उमेर हद ४५ वर्ष उमेर पूरा भई ६० वर्ष उमेर पूरा नभएको भन्ने छ । प्रदेश सभा सचिवालय ऐन, २०७७ को दफा ८ को ‘ज’ मा सचिवको उमेरहदको व्यवस्था गरिएको छ ।
जहाँ भनिएको छ, ‘४५ वर्ष उमेर पूरा भई ६० वर्ष उमेर पूरा नभएको हुनुपर्छ ।’ दफा १० मा सचिवको पद रिक्त हुने अवस्था छ । त्यसको ‘ग’ मा पनि साठी वर्ष उमेर पूरा भएमा पद रिक्त हुने उल्लेख गरिएको छ । तर, संशोधन विधेयकमार्फत सचिवको अधिकतम उमेर हद ६५ वर्ष बनाइएको छ । संशोधन प्रस्तावको बुदा नम्बर २९ को ३ मा यसअघि ६० वर्ष भन्ने शब्दहरुको सट्टा ६५ वर्ष भन्ने शब्द राखिएको छ ।
संसद सचिवालयका सचिव हरिराज पोखरेललाई आगामी ५ वर्ष निरन्तरता दिन सरकारले ऐन नै संशाेधन गरेकाे हाे । ऐन संशाेधन भएसँगै सचिव पाेखरेलले पाँच वर्ष काम गर्नेछन् ।
सरकारले सचिवको उमेर हद बढाउने संशोधन विधेयकसहित एकैपटक ३४ वटा ऐन संशोधन गर्ने संशोधन विधेयक पारित भएको हो । सचिवालयमा ३४ वटा ऐन संशोधन गर्ने गरी संशोधन प्रस्ताव अघिल्लो सरकारका पालामा पनि प्रदेश सभा सचिवालयमा दर्ता भएको थियो ।
उक्त संशोधन प्रस्ताव प्रदेश सभामा छलफलपछि दफावार छलफलका लागि विधायन समितिमा गएको थियो । १५ दिन छलफल हुँदा पनि निष्कर्ष निस्कन सकेको थिएन । प्रदेश सभाको कार्यकाल सकिँदा स्वत निष्किय भएको थियो ।
निर्वाचनपछि बनेको नयाँ सरकारले पुनः सोही विधेयकलाई विधायन समितिमा छलफल नै नगरी प्रदेश सभाबाट पारित गरेको हो । ऐनमा देखिएका त्रुटिका अतिरिक्त नाम नामेसी संशोधन विधेयकमार्फत सच्याइएको छ ।
प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहाले माघ २७ गते उक्त संशोधन प्रस्ताव प्रदेश सभामा पेस गरेका थिए । माघ २९ गते प्रदेश सभा सामान्य छलफल र फागुन ३ गते दफावार छलफल भएको उक्त संशोधन प्रस्ताव सोही दिननै प्रदेश सभाबाट पारित भएको हो।
<iframe src="https://drive.google.com/file/d/17NhvLgxv8OMORNBx8XvOvtJDF7rx_JTO/preview" width="640" height="480" allow="autoplay"></iframe>
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij