२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं महानगरपालिकामा घरभाडामा दिँदा ७ दिनभित्र जानकारी गराउनुपर्ने भएको छ। महानगरले ‘घरबहाल व्यवस्था निर्देशिका २०७९’ जारी गर्दै घरबहालमा लगाउँदा तीनप्रति लिखित सम्झौता गर्नुपर्ने र एकप्रति सम्झौता सम्बन्धित वडा कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरेको हो।
बाँकी दुई प्रतिमध्ये एक/एकप्रति भने सम्झौताकर्ताले राख्नुपर्नेछ । यदि घरखाली भएको जानकारी नगराएको खण्डमा भाडामा लगाउने पक्षले सो अवधिभरको घरबहाल कर तिर्नुपर्ने हुन्छ।
कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कसप, ग्यारेज, गोदाम, टहरा, सेड (छप्पर), कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्झौता गर्नुपर्ने व्यवस्था काठमाडौं महानगरले गरेको हो।
७ गतेभित्र बहाल रकम तिर्नुपर्ने
यस्तै निर्देशिका अनुसार बहालमा बस्नेले सम्झौता गरेपछि प्रत्येक महिनाको ७ गतेभित्र अघिल्लो महिनाको बहाल रकम बुझाउनुपर्ने हुन्छ । बहाल रकम नगदै वा बैंक खातामा जम्मा गरिदिएपछि सोको भौचरको एकप्रति राख्नुपर्ने निर्देशिकामा उल्लखे छ ।
तोकिएको म्यादभित्र बहाल रकम बुझाउन नसकेमा १० प्रतिशत जरिवाना तिरी अर्काे महिनाको मसान्तभित्र बुझाउनु पर्ने र तीन महिनाभित्र पनि रकम नतिरे सम्झौता स्वतः भंग भएर घर खाली गराउन सकिने उल्लेख छ । बहालमा बस्नेलाई घरधनीले सम्झौता विपरीत कार्य गरेमा हटाउन लिखित निर्देशन दिन सक्ने व्यवस्था महानगरले गरेको छ ।
यस्तै बहालमा बस्ने व्यक्तिले घर छोड्नुपर्ने भएमा ३५ दिनको पूर्वलिखित सूचना दिएर हट्नुपर्ने व्यवस्था भएको छ । घरबेटी वा बहालमा बस्ने जुन पक्षबाट सम्झौता भंग गरेपनि कागजातसहित वडा कार्यालयलाई लिखित जानकारी गराउनुपर्ने निर्देशिकामा भनिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij