Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

आजदेखि वाग्मती प्रदेशमा ७० अंक ल्याए ट्रायल पास, कसरी दिइन्छ नम्बर ?

आजदेखि वाग्मती प्रदेशमा ७० अंक ल्याए ट्रायल पास, कसरी दिइन्छ नम्बर ?


  • 1.7K
    Shares

    आजदेखि वाग्मती प्रदेशमा ७० अंक ल्याए ट्रायल पास, कसरी दिइन्छ नम्बर ?
    images

    लामो समय अलपत्र परेको सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ (संशोधित) लागू भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमतीले आजदेखि सवारी चालक अनुमतिपत्र परीक्षामा ७० प्रतिशत अंक ल्याए पास हुने व्यवस्था लागू गरेको मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले जानकारी दिए ।

    ‘आजदेखि निर्देशिका लागू भयो । अबदेखि बागमती अञ्चलका सबै यातायात कार्यालयमा सवारी चालक परिचयपत्रको परीक्षा दिँदा लिखित परीक्षामा ६० अंक र ट्रायलमा ७० अंक ल्याए परीक्षार्थी पास हुन सक्छन्,’ उनले भने । 

    यातायात व्यवस्था विभागले चैत २०७७ मै निर्देशिका जारी गरे पनि तयारी नपुगेको भन्दै बागमती प्रदेशले निर्देशिका लागू गरेको थिएन । निर्देशिका जारी भएको डेढ वर्षपछि २३ साउन २०७९ मा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले निर्देशिका लागू गर्न पहलकदमी गरेका थिए । उनले सातै प्रदेशका यातायात मन्त्रीहरूलाई निर्देशिका लागू गर्न सहमत गराएका थिए । 

    अव्यावहारिक प्रयोगात्मक परीक्षाका कारण सेवाग्राही सानो गल्तीमा पनि फेल भई विचौलियाको चङ्गुलमा फस्ने भन्दै यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक नमराज घिमिरेले निर्देशिका संशोधन गर्न पहल गरेका थिए । निर्देशिका लागू गर्न यातायात मन्त्रालयले यातायात कार्यालयमा २ पटक पत्र पठाए पनि मूख्यमन्त्री कार्यालयले एकपटक मौखिक र एकपटक लिखित निर्देशन दिँदै रोकेको थियो ।

    कसरी दिइन्छ अंक ?

    सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ (संशोधित) अनुसार परीक्षार्थीहरू सानो गल्तीमा फेल हुने छैनन् । परीक्षार्थीले लिखित परीक्षामा १०० पूर्णाङ्क ६० अंक ल्याउनुपर्छ भने प्रयोगात्मक परीक्षा (ट्रायल) लाई सातवटा चरणमा छुट्याइएको छ । यी सात चरण कटाउँदा परीक्षार्थीले ७० अंक ल्याउनुपर्नेछ ।

    ट्रायलमा कसरी हुन्छ पास/फेल ?

    'ए’ र 'के’ वर्ग (मोटरसाइकल र स्कुटर) को हकमा पहिलो चरणको घुमाउरो ८ को अंकभार २० कायम गरिएको छ । एकपटक अंकित रेखा छोएमा ५ र एकपटक खुट्टाले भुईंमा टेकेमा ५ अंक काटिनेछ । त्यस्तै, एकपटकभन्दा धेरै अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरै खुट्टाले भुईंमा टेकेमा, ठीक दिशा वा ठीक तरिकाबाट ८ नघुमाएमा र सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने परीक्षार्थीलाई अनुत्तीर्ण घोषणा गरिनेछ ।

    दोस्रो चरणको साँघुरो फलेकको अंकभार १० कायम गरिएको छ । यो चरणमा खुट्टाले भुईंमा टेकेमा र फलेकको लम्बाइ पार गर्नुअगावै सवारी फलेकबाहिर निस्केमा परीक्षार्थीलाई अनुत्तीर्ण घोषणा गरिनेछ ।

    त्यस्तै, तेस्रो चरणको यु–टर्नको अंकभार १० कायम गरिएको छ । यसमा इन्डिकेटर लाइट नबालेमा १० अंक घटाइनेछ भने अंकित रेखा छोएमा अनुत्तीर्ण घोषणा गरिनेछ । चौथो चरणको ट्राफिक संकेतको अंकभार १५ छ । संकेत पालना नगरे १५ नम्बर घटाइनेछ भने फेल भने हुने छैन ।

    त्यसैगरी, पाँचौँ चरणमा रहेको बम्पसको अंकभार १५ छ । यसमा एकपटकसम्म खुट्टाले भुईंमा टेकेमा ५ र एकपटकसम्म स्टार्ट बन्द भएमा ५ अंक काटिनेछ । त्यस्तै, एकपटकभन्दा धेरै खुट्टाले भुईंमा टेकेमा र एकपटकभन्दा धेरै स्टार्ट बन्द भएमा अनुत्तीर्ण घोषणा गरिनेछ ।

    छैटौँ चरणमा रहेको र्‍याम्प (उकालो/ओरालो) को अंकभार २० छ । यसमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, रोकिएको अवस्थामा सवारी अगाडि र पछाडिको टायर ६ इन्चभन्दा धेरै सरेमा, उकालो पार गरी ओरालो झर्ने क्रममा रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अघि बढेमा र एक पटकभन्दा धेरै स्टार्ट बन्द भएमा परीक्षार्थी फेल हुनेछ ।

    त्यस्तै, अन्तिम चरणमा परीक्षार्थीको व्यावहारिक पक्षको समग्र मूल्याङ्कनका लागि अंकभार १० कायम गरिएको छ । यसमा सवारी चलाउनुपूर्व ब्रेक, टायर र ऐनाहरूमा सामान्य निरीक्षण नगरे ३, हेल्मेटको लक नलगाई सवारी चलाए ४ र अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाए ३ नम्बर काटिनेछ ।

    बी क्याटगोरी (कार, जिप भ्यान) का लागि पनि सातवटा चरण बनाएको छ । पहिलो चरणको घुमाउरो ८ को अंकभार २० छ । यसमा दुई पटकसम्म अंकित रेखा छोएमा ५–५ अंक काटिनेछ ।

    त्यस्तै, एक पटकभन्दा धेरै अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, ठीक दिशा वा ठीक तरिकाबाट ८ नघुमाएमा, अगाडि बढ्ने क्रममा सवारीलाई पछाडि सारेमा भने परीक्षार्थीलाई अनुत्तीर्ण गरिनेछ ।

    त्यसैगरी, दोस्रो चरणको उबडखाबडको अंकभार १० कायम गरिएको छ । यसमा एकपटकसम्म स्टार्ट बन्द भएमा ५ अंक काटिनेछ भने एकपटकभन्दा धेरै स्टार्ट बन्द भएका परीक्षार्थीलाई फेल गरिनेछ ।

    तेस्रो चरणमा यू–टर्नको अंकभार १० छ । यसमा ट्रेनिङ इन्डिकेटर लाइट नबालेमा १० अंक घटाइनेछ भने अंकित रेखा छोएमा अनुत्तीर्ण गरिनेछ । त्यस्तै, चौथो चरणको ट्राफिक संकेतको अंकभार १५ कायम गरिएको छ । संकेत पालना नगरे १५ नम्बर घटाइए पनि फेल भने नगरिने बताइएको छ ।

    पाँचौँ चरणमा रहेको र्‍याम्प (उकालो/ओरालो) को अंकभार १५ छ । यसमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, रोकिएको अवस्थामा सवारी अगाडि र पछाडिको टायर ६ इन्चभन्दा धेरै सरेमा, उकालो पार गरी ओरालो झर्ने क्रममा रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अघि बढेमा र एक पटकभन्दा धेरै स्टार्ट बन्द भएमा परीक्षार्थी फेल हुनेछ ।

    छैटौँ चरणमा रहेको ग्यारेज पार्किङको अंकभार २० छ । यसमा सवारीलाई पछाडि गुडाउने क्रममा एकपटकसम्म अगाडि सरेमा १० नम्बर काटिनेछ भने पछाडि गुडाउने क्रममा एकपटकभन्दा धेरै अगाडि सरेमा र अंकित रेखा छोएमा परीक्षार्थी फेल हुनेछ ।

    त्यसैगरी, सातौँ र अन्तिम चरणमा परीक्षार्थीको व्यावहारिक पक्षको समग्र मूल्याङ्कनका लागि अंकभार १० कायम गरिएको छ । यसमा सवारी चलाउनुपूर्व ब्रेक, टायर र ऐनाहरूका सामान्य निरीक्षण नगरे, सिटबेल्ट नलगाई चलाएमा ४ र अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाएमा ३ नम्बर काटिनेछ । 

    प्रकाशित मिति :फाल्गुण २ २०७९ मंगलवार - १२:२७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij