२०८२ माघ १५ गते बिहिवार
सुदूरपश्चिमको मुख्यमन्त्री भएपछि कांग्रेसका कमल शाहले आफ्नो पक्षमा मत दिन नागरिक उन्मुक्तिसमक्ष पहल गर्न थालेका छन्।
उनले शुक्रबार मुख्यमन्त्रीको शपथ र पदभारग्रहण गरेलगत्तै शनिबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका परिवारलाई घरमै गएर भेटेका छन्।
शनिबार बिहान उनले चौधरीकी आमा र घर परिवारका अन्य सदस्यलाई भेटेर रेशमलाई जेलमुक्त गर्ने अभियानमा आजैदेखि लागेको बताएका थिए।
उनले टीकापुर घटनालाई राजनीतिक रूपमा लिएर त्यही हिसाबले समाधान गर्नुपर्ने पनि बताएका थिए।
उनले रेशमको रिहाइ र टीकापुर घटनाका बन्दीहरूलाई छुटाउने अभियानमा आफू सक्रिय भएर लाग्ने पनि बताएका थिए।
शनिबार टीकापुर नगरपालिकाको राष्ट्रपति रनिङ सिल्डको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ आएकी थिइन्।
सोही क्रममा सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाह र अध्यक्ष श्रेष्ठबीच भेटवार्ता भएको नागरिक उन्मुक्ति पार्टीका प्रदेश सासंद लक्ष्मण किशोर चौधरीले बताए।
‘दुवै जना टीकापुर आएको बेला संयोगले भेट भएको हो, उहाँहरूबीच प्रदेशको पछिल्लो राजनीति अवस्थाबारे सामान्य कुराकानी भएको छ,’ उनले भने।
शाहले मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। जसका लागि २७ सांसदको समर्थन चाहिन्छ। यसअघि एमाले नेतृत्वको सरकार नागरिक उन्मुक्तिले साथ नदिएपछि एक महिनामै ढलेको थियो।
शाहले विश्वासको मत पाउने दाबी गरेका छन्।
उनले नागरिक उन्मुक्ति, माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्र एक जना सांसदको समर्थन पाउने आशा राखेका छन्।
सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका उपसभामुखबाहेक ९, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij