Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मलेसियाका गृहमन्त्री बिहीबार नेपाल आउँदै, नेपाली श्रमिकका मुद्दामा छलफल गर्ने

मलेसियाका गृहमन्त्री बिहीबार नेपाल आउँदै, नेपाली श्रमिकका मुद्दामा छलफल गर्ने


  • 3.1K
    Shares

    मलेसियाका गृहमन्त्री बिहीबार नेपाल आउँदै, नेपाली श्रमिकका मुद्दामा छलफल गर्ने

    मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल बिहीबार नेपाल आउने भएका छन्। 

    हालै श्रम बजारमा ५ लाख श्रमिक भित्र्याउने जनाएको मलेसियाले नेपाली श्रमिक लैजाने विषयमा नेपाल सरकारसँग छलफल गर्ने भएको हो। शुक्रबार बिहान १० बजेदेखि श्रम मन्त्रालयको टोलीसँग यस विषयमा छलफल हुने भएको छ। 

    गृहमन्त्री इजमाइल १५ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेको श्रम मन्त्रालयका सहससचिव प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए। मलेसियाका गृह मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग छुट्टा छुट्टै भेटवार्ता गर्नेछन्। 

    मलेसियाले खासगरी नेपाली सुरक्षा गार्ड लैजाँदै आएको छ। उनीहरुलाई नेपालमै तालिम दिने विषयमा गृह मन्त्रीसँग छलफल हुनेछ। मलेसियाले नेपालमै सुरक्षागार्डको तालिम दिने विषयमा पनि नेपाल सरकारसँग छलफल गर्नेछ।

    अदक्ष श्रमिक लैजाँदा समस्या देखिएको भनदै मलेसिया जाने सुरक्षागार्डलाई यहीँ तालिम लिएर जाने र त्यसका लागि नेपालमा तालिम केन्द्र स्थापना गर्ने प्रस्ताव मलेसियाले गर्नेछ। 

    यस्तै यसअघि नेपाल र मलेसियाबीच भएको श्रम सम्झौताको विषयमा पनि दुई देशबीच छलफल हुने भएको छ। 

    ‘हामी मलेसियामा नेपाली श्रमिकका अधिकारका विषय उठाउँदैछौं। त्यहाँ श्रम मैत्री वातावरण, समान पारिश्रमिकका कुरा र यसअघि भएको सम्झौता कार्यन्वयनमा हाम्रो जोड रहनेछ’, प्रवक्ता घिमिरेले भने।

    यस्तै मलेसियामा कार्यान्वयनमा रहेको सामाजिक सुरक्षाको कार्यक्रममा नेपालीलाई पनि अनिवार्य समेट्न माग गर्ने भएको छ। 

    ‘उहाँहरुको मुख्य एजेन्डा ५ लाख श्रमिक भित्र्याउने विषयमा भन्ने बाँकी के के हुन्छ उताको प्रस्तावअनुसार कुरा अगाडी बढ्छ’, घिमिरेले नेपालखबरसँग भने। 

    यस्तै म्यानपावर व्यवसायीले पनि मलेसियाको टोलीसँग भेट्न खोजिरहेका छन्। व्यवसायीले भने मलेसियासँग यसअघि सरकारले गरेको सम्झौताको पुनरवलोकनको माग गर्ने भएका छन्। 

    वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले भने, ‘अहिलेसम्म हाम्रो समय तय भइसकेको छैन। हामीले श्रम मन्त्रालयमार्फत वा परराष्ट्र मन्त्रालयमार्फत छोटो समय भेटघाट गर्न मिलाइदिनुस् भनेका छौं। यदि त्यसो हुन सकेन भने श्रम मन्त्रीमार्फत हाम्रो कुरा मलेसियाको टोलीसम्म पुर्‍याउँछौँ।’

    दुईपक्षीय सम्झौता समयानुकूल परिमार्जन गर्नुपर्ने माग रहेको भुर्तेलले बताए। शून्य लागतमा श्रमिक लैजाने गरी भएको सम्झौतामा त्यतिबेलै व्यवसायीहरुले असहमति जनाएका थिए। 

    म्यानपावर व्यवसायीले श्रमिक पठाउँदा एक महिनाको सेवाशुल्क बराबर उठाउन पाउनुपर्ने व्यवसायीको माग छ। 

    तर अहिले व्यवसायीले भने ३ लाख रुपैयाँसम्म मलेसिया जाने श्रमिकबाट उठाउँदै आएका छन्। त्यसमा सरकारले पनि अनुगमन र कारबाही नगरी मौन समर्थन गरेको छ।

    यस्तै मलेसिया पठाउनु पहिले सुरक्षा गार्डका लागि तालिम दिँदा नेपाल सरकारकै अपन्वतामा हुनुपर्ने व्यवसायीले माग गर्ने भएका छन्। मलेसिया पठाउने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको समस्यालाई पनि व्यवसायीले उठाउने भएका छन्। 

    मलेसिया सरकारकै मापदण्ड अनुसार बायोमेट्रिकमा आवद्ध स्वास्थ्य संस्थाबाट नेपालमा स्वास्थ्य परीक्षण गराउँदा पनि मलेसिया पुगेपछि स्वास्थ्यमा समस्या देखिएको रिपोर्ट आउने गरेको गुनासो म्यानपावरको छ। 

    गएको एक महिनाभित्र स्वास्थ्य परीक्षणमा असफल भएर नेपाली श्रमिक फर्किंदा त्शयसको क्षतिपूर्ति म्यानपावर कम्पनीले व्यहोर्नु परेको भन्दै यसको समाधानका लागि मलेसियामा तत्काल स्वास्थ्य परीक्षण नगर्ने अथवा त्यहाँ कुनै स्वास्थ्य समस्या देखिएर फर्किए स्वास्थ्य संस्थाले नै क्षति व्यहोर्नु पर्ने माग व्यवसायीले गर्ने तयारी गरेका छन्। 

    यसअघि २०७५ कात्तिकमा नेपाल र मलेसियाबीच दुई पक्षीय सम्झौता भएको थियो। सम्झौताअनुसार मलेसिया जाने श्रमिकको सम्पूर्ण लागत मलेसियाका रोजगारदाता कम्पनीले नै व्यहोर्नुपर्ने उल्लेख छ। रोजगारदाताले खर्च व्यहोर्ने भए पनि अहिले कतिपय म्यानपावर कम्पनीले मलेसिया जाने श्रमिकसँगै ३ लाख रुपैयाँसम्म उठाउँदै आएका छन्। 

    म्यानपावर कम्पनीलाई श्रमिकको आधा महिनाको तलबबराबर सेवा शुल्क उपलब्ध गराउने उल्लेख थियो। सम्झौता कार्यान्वयन नहुँदा नेपाली श्रमिकले लाभ पाउनसकेका छैनन्।

    प्रकाशित मिति :माघ १८ २०७९ बुधवार - १४:३१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij