२०८२ माघ १० गते शनिवार
कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाले अनिवार्य स्वास्थ्य बीमा योजना लागू गर्ने भएको छ । गाउँपालिकाका नागरिकलाई स्वस्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य बीमा योजना लागू गरेको हो ।
नेपालको संविधानको धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रुपमा स्थापित गरेकाले गाउँपालिकाको स्वास्थ्य बीमा योजना लागू गरेको गाउँपालिकाले जनाएको छ । मानव जीवनका लागि स्वास्थ्य नै पहिलो प्राथमिकताको विषय भएका कारण नागरिकको उपचार नपाएर अकालमा ज्यान गुमाउन नपरोस् भनेर नै गाउँपालिकाले अनिवार्य स्वास्थ्य बीमा योजना ल्याएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताउनुभयो ।
बीमा योजनामा गाउँपालिका वडा नं १ देखि ९ सम्मका कर्मचारी र जनप्रतिनिधिबाहेक मध्यम गरीब र सामान्य गरीब परिवारका पाँचजना सदस्यको बीमा रकम रु तीन हजार ५०० का दरले गाउँपालिकाले नै स्वास्थ्य बीमा बोर्डलाई भुक्तानी गरिदिने गाउँपालिका स्वास्थ्य शाखाप्रमुख मीनबहादुर बिष्टले जानकारी दिनुभयो ।
“एकै घरका पाँचभन्दा बढी सदस्यको हकमा परिवार स्वयंले बीमा रकम तिर्नुपर्ने व्यवस्था गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “गरीब तथा विपन्न परिवारलाई लक्षित गरेर यो योजना ल्याइएको हो ।” योजना कार्यान्वयन गर्न आगामी फागुन ५ गतेभित्रै बीमा कार्यक्रमको नागरिकसम्म पुर्याउने गाउँपालिकाले जनाएको छ । रासस
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij